काठमाडौं । अमेरिकी ४६ औं राष्ट्रपतिमा सपथ ग्रहण गर्नासाथ नयाँ राष्ट्रपति जो बाइडेनले ४५ राष्ट्रपति डोनाल्ड ट्रम्पले अपनाएका नीतिहरु उल्टाएका छन् । कार्यकालको पहिलो दिन नै बुधबार बाइडेनले कयौं कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन् ।
कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ ।
उनले कोरोना भाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरु जारी गरेका छन् । उनले सपथ लिनुअघि आफूहरुसँग एक सेकेन्ड पनि समय नभएको बताएका थिए ।
उनले जारी गरेका अन्य आदेशहरुले ट्रम्प प्रशासनले कोरोना भाइरस महामारी, जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ ।
कोरोना भाइरसबारेको निर्णय
बीबीसीका अनुसार कोरोना भाइरसबारे विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने छ । भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने र कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने भएको छ ।
सबै संघीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने भएको छ । आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरुलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने भएको छ ।
जलवायु बारेको आदेश–
वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरु बाइडेनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनस् सामेल हुने भनिएको छ । त्यस्तै विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गरिने भएको छ । वातावरणवादी तथा अमेरिकी आदिवासीहरुले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए ।
आप्रवासन नीति
आप्रवासनको विषयमा बाइडनले ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा हुने भएको छ । त्यस्तै मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द गरिने भएको छ ।