काठमाडौं । भारतबाट अनुदान स्वरुप आएको कोरोना भाइरसविरुद्धको खोप माघ १४ गतेदेखि जिल्लामा अभियानकै रुपमा संचालन गरी खोप लगाइने भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारदेखि सातवटै प्रदेशमा खोप पठाउन थालिएको छ । संभवत माघ १४ गतेबाट खोप अभियान सुरु गरिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मन्त्रालयको स्टोर र टेकुस्थित केन्द्रिय भण्डारण केन्द्रमा राखिएको खोप आइतबारदेखि प्रदेशमा पठाउन थालेको र संभवत १४ गतेबाटै खोप वितरण सुरु हुनेछ ।
मन्त्रालयले कोरोना विरुद्धको खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकिसकेको उनले जानकारी दिए ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिइसकेका छन् । अभियानको उद्दघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ ।
भारत सरकारले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोपमार्फत नेपालमा खोप अभियान सुरु गर्न लागिएको हो । उक्त खोप एक व्यक्तिलाई दुई डोज दिनु पर्ने भएकाले पहिलो चरणमा ४ लाख ३० हजारभन्दा बढीलाई पुग्ने अनुमान गरिएको छ ।
संयोजकमा को को ?
खोप अभियान तथा व्यवस्थापनका लागि प्रदेशहरुमा संयोजकहरु तोकिएको छ । गण्डकी प्रदेशमा प्रवक्ता गौतमलाई नै जिम्मेवारी दिइएको छ । प्रदेश नं १ मा परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोखरेललाई जिम्मेवारी तोकिएको छ ।
प्रदेश नं २ मा उपचारात्मक सेवा महाशाखाका निर्देशक डा.मदनकुमार उपाध्याय, बाग्मती प्रदेशमा मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डागुणराज लोहनी तोकिएका छन् ।
लुम्बिनी प्रदेशमा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.विकास देवकोटा, कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा.अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेललाई संयोजकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।