काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय र नेपाली सेनाबीच ऐतिहासिक सम्बन्ध रहेको र यसले दुवै देशलाई भातृत्व सम्बन्धको कसिलो बन्धनमा बाँधेको बताएका छन् ।
उनले भारतीय सेनामा गोरखा सैनिकहरुले देखाएको निःस्वार्थ सेवा तथा बलिदानीप्रति कृतज्ञता ब्यक्त गर्दै भने, ‘अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक तथा नेपालमा बसोबास गरिरहेका उनीहरुको परिवारहरुको सेवा गर्न भारत सदैव प्रतिवद्ध छ ।’
७३ औं भारतीय सेना दिवसको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले आयोजना गरेको कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा ‘प्रसिद्घ प्रवल जनसेवा श्री’ बाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
‘प्रसिद्घ प्रवल जनसेवा श्री’बाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी थापाले भारतीय सेना दिवसको अवसरमा भारतीय सेना प्रमुख जनरल एमएम नरवणेलाई शुभकामना दिए ।
उनले भारतीय सेनाको वीरता, साहस र त्यागको प्रशंसा गर्दै भारतीय सेनाले नेपाली सेनाको आधुनिकिकरणमा पुर्याएको सहयोगको सराहना गरे । यस अवसरमा भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई महारथी थापाले सम्मान गरे ।