काठमाडौं । कोरोना भाइरसविरुद्ध अमेरिकाले तयार गरेको मोडेर्नाको खोपले नयाँ स्वरुपमा देखिएको भाइरसलाई पनि काम गर्ने बताइएको छ । अमेरिकी औषधी उत्पादक मोडेर्नाका वैज्ञानिकहरुले आफ्नो कोभिड खोप पछिल्लो समय देखा परेको नयाँ र धेरै सङ्क्रामक कोरोना भाइरसको प्रकारसँग जुझ्न सक्षम देखिएको जनाएका हुन् ।
उक्त कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्टलाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको बीबीसीले लेखेको छ ।
थप अध्ययन भने सो खोप लगाएका मानिसमै जाँचमार्फत् गर्नुपर्ने पनि बताइएको छ। दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारका लागि उसले दोस्रो बुस्टर थप गर्ने जनाएको छ।
शुरुमा बेलायत र दक्षिण अफ्रिकामा देखा परेका नयाँ प्रकारमध्ये दक्षिण अफ्रिकामा देखा परेको भाइरस पहिलेको भन्दा केही घातक हुने प्रारम्भिक अध्ययनहरुमा देखिएको छ।
कोभिडका यी नयाँ प्रकार द्रूत गतिमा कैयन् देशमा फैलिसकेका छन् । भाइरसमा यतिखेर देखा परेका विभिन्न बदलाव वा स्वरुप परिवर्तनले मानव कोशिकालाई महामारीको शुरुवाती समयमा भन्दै बढ्ता सहजै सङ्क्रमित पार्नसक्ने देखिएको छ।
गत सेप्टेम्बरमा बेलायतबाट फैलिएको उक्त नयाँ प्रकार ७० प्रतिशतसम्म थप सङ्क्रामक पाइएको विज्ञहरुले बताएका छन् । यतिखेर तयार रहेका खोपहरु भाइरसको शुरुवाती प्रकारका बेला तयार पारिएका हुन् ।
तर वैज्ञानिहरुले त्यसले नयाँ प्रकारको भाइरसलाई समेत काम गर्ने विश्वास गरे तापनि उत्तिकै क्षमतामा गर्छ–गर्दैन भन्ने थाहा हुन बाँकी छ।