काठमाडौं । चिसोका कारण काठमाडौं उपत्यकालाई कपाउँदै गएको छ । वायु प्रदूषणका कारण काठमाडौं केही तातो महशुस गरिएको भए पनि पछिल्ला केही दिनमा काठमाडौं उपत्यकामा चिसो बढेको छ ।
बिहीबारको तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । बुधबारको तापक्रम पनि २ डिग्री सेल्सियस नै मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगाा नगरकोटीका अनुसार बिहान ६ः३० बजेको तापक्रम २.२ डिग्री रहेकामा ८ः४५ सम्म पुनः मापन गर्दा न्यूनतम तापक्रम २ डिग्रीमा झरेको हो ।
घाम उदाउँदै गर्दा तापक्रम पनि घट्दै जाने भएकाले ०.२ डिग्री थप घटेको बताइन् ।
उपत्यकाका विभिन्न स्थानमा बिहान सेताम्यै देखिएको थियो । तुसारोका कारण जाडो बढेको छ । काठमाडौंको अधिकतम तापक्रम १८ डिग्रीसम्म हुन सक्ने नगरकोटीले बताइन् ।
हाल पहाडी भागमासमेत मौसम सफा रहेको छ । सामान्य हुस्सु रहेको छ । तर तराई भेगमा भने बढी नै हुस्सु रहेको छ ।
महाशाखाका अनुुसार हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ र बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।
दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
तराईका भूभागहरुमा बिहानीपख हुस्सु्–कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
कहिले पर्छ पानी ?
पानी पर्ने सम्भावना तत्काल छैन । नगरकोटी भन्छिन्, ‘पश्चिमी वायु आउने सम्भावना तत्काल नभएकाले पानी पर्ने छैन । ६ महिना त भयो नै ठूलो पानी नपरेको ।’
उनले भनिन्, ‘केही दिनअघि त सामान्य पानी परेको थियो । हामीले त तीन दिनको मात्र भविष्यवाणी गर्न मिल्छ । तर अहिले पश्चिमी वायु प्रणाली आउने सम्भावना नभएकाले पानी पर्ने देखिन्न । हिमाली भेगमा हिमपात भने भइरहन्छ ।’