शेखर कोइरालाको आरोप -‘वर्तमान सरकार अपराधीहरुको थलो’
प्रकाशित २०७७ माघ १६ शुक्रबार
121
Shares
सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रभावशाली नेता डा. शेखर कोइरालाले वर्तमान सरकार अपराधीहरुको थलो बनेको आरोप लगाएका छन् ।
शुक्रबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा कांग्रेसद्वारा आयोजित महिला सशक्तिकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम उद्घाटन समारोहमा बोल्दै नेता कोइरालाले सर्बोच्च अदालतले जन्मकैद फैसला गरिसकेका अपराधीहरुको प्रधानमन्त्री निवास बालुवाटारमा नियमित आउजाउ भईरहेको उल्लेख गर्दै वर्तमान सरकार अपराधीहरुको थलो बनेको आरोप लगाए ।
‘रामहरि श्रेष्ठ हत्या काण्डमा सर्बोच्च अदालतले जन्मकैद फैसला गरेका कालिबहादुर खाम अहिले दिनहु बालुवाटारमै हुन्छन्’, नेता कोइरालाले भने, ‘पासपोर्ट काण्डका अभियुक्त शिवपुजन रायलाई पनि पार्टी प्रवेश गराएर अपराधीहरुको थलो बनाईएको छ, अपराधीहरुलाई धमाधम पार्टी प्रवेश गराएर सरकार अपराधीहरको थलो बनिरहेको छ ।’
त्यस्तै वर्तमान सरकार किसानमारा समेत रहेको कोइरालाको भनाई थियो । ‘सर्लाहीका उखु किसान नारायण यादवको काठमाडौंमा आन्दोलन गर्दै गर्दा मृत्यु भयो’, कोइरालाले भने, ‘त्यसैले यो सरकार किसानमारा पनि हो ।’
प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक रहेको दाबी गर्दै नेता कोइरालाले यो विषयमा कांग्रेस एक रहेको समेत बताए । ‘तपाईहरुलाई द्विविधा होला, संसद् विघटनको मुद्धामा कांग्रेस एक छैन भनेर, हाँमी एक छौ, संसद् विघटन असंवैधानिक, अलोकतान्त्रिक र अराजनैतिक कदम हो, त्यसैले संसद् पुनस्र्थापना हुनुपर्छ भन्ने हाम्रो माग हो’, कोइरालाले पार्टीको धारण थप सुनाउँदै भने, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले, उक्त मुद्धामा सर्बोच्च अदालतले जे फैसला गरेपनि हाँमी मान्ने छौं, चित्त बुझेपनि नबुझेपनि स्वतन्त्र न्यालयको फैसलालाई शिरोधार्य गर्दै चुनावक्को पक्षमा फैसला आए हाँमी निर्वाचनमा पनि सहभागि हुन्छौं ।’
संसद् विघटन असंवैधानिक हो भन्दै कांग्रेसले विरोध सभा गरिरहेको स्मरण गराउँदै नेता कोइरालाले सर्बोच्चले विघटनको पक्षमा फैसला गरे बैशाख १७ गते निर्वाचन सुनिश्चितताका लागि फेरि पनि सशक्त विरोध प्रदर्शनका लागि तयार रहन कार्यकर्तासँग आग्रह गरे । सर्बोच्च अदालतले निर्वाचनको पक्षमा फैसला गर्यो र बैशाखमा चुनाव हुन सकेन भने मुलुक ठूलो द्वन्द्वमा फस्ने नेता कोइरालाको दाबी थियो ।