हरिवनमा नेकपाका करिब दुईसय कार्यकर्ता कांग्रेसमा प्रवेश
प्रकाशित २०७७ माघ १७ शनिबार
102
Shares
हरिवन । नेपाली कांग्रेस हरिवनले शनिबार दुई छुट्टाछुट्टै स्थानमा पार्टी प्रवेश कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका–८, बेताली र वडा नम्बर ५ घुर्कौलीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
कांग्रेस हरिवन नगर सभापति रामशरण उप्रेतीको अध्यक्षता रहेको बेतालीको कार्यक्रममा रविन विक, अर्जुन खड्का, गुरुदेव माझी, सहदेव माझी लगायत ५० जना भन्दाबढीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)छाडेर कांग्रेस प्रवेश गरेको हरिवन–८ कांग्रेसमा युवा जीवन सुबेदीले जानकारी दिए ।
कार्यक्रम सञ्चालक समेत रहेका सुबेदीका अनुसार कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्व जिल्ला सभापति लक्ष्मण राय, नेताहरु कर्णबहादुर महत, किसन राय लगायतको आतिथ्यता भएको कार्यक्रममा वडा नम्बर ८ कांग्रेस सभापति रमेश भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा कांग्रेसका युवा नेताहरु विनोद महत, रञ्जित थापा, गणेश भण्डारी, भवानी भण्डारी, सुशिल थपलिया, रञ्जन सिंदाली लगायतको उपस्थिती रहेको थियो ।
त्यस्तै हरिवन नगरपालिका–५, घुर्कौलीमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपालगायत विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको दाबी गरिएको छ ।
स्थानीय वीजय स्याङ्तानको अगुवाईमा त्यहाँ पार्टी प्रवेश कार्यक्रम भएको कांग्रेस नेता विनोद खनालले जानकारी दिए । घुर्कौलीमा पूर्वगाविस अध्यक्ष पूर्णबहादुर स्याङतानको नेतृत्वमा सूर्य स्याङतान, विजय स्याङतान लगायत नेकपालगायत अन्य विभिन्न पार्टीमा आवद्ध १५० जनाभन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको खनालले दाबी गरे ।
दुवै कार्यक्रममा नवप्रवेशीलाई कांग्रेस नेता डा. शेखर कोइरालाले अबिर र माला लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. कोइरालाले अब कांग्रेस मुलुककै पहिलो पार्टी हुने दाबी गरे ।
त्यसका लागि गुटउपगुट नभई एकजुट भएर काम गर्न र खटन नेता कोइरालाले कार्यकर्तालाई निर्देशन दिए । नवप्रवेशी नेता कार्यकर्तालाई कुनै भेदभाव नगरी समान व्यवहार गर्दै दलित, उत्पीडित लगायत पिछडिएका वर्गको उत्थानमा लागिपर्न नेता कोइरालाले पार्टी पंक्तिमा आग्रह गरे ।