‘अकुपाइ टुँडिखेल’ ले खुलामञ्च खाली गर्न अभियान चलाउँदै
खुलामञ्चमा विरोध कार्यक्रम गर्न दलहरूलाई आग्रह गर्दै पत्रकार सम्मेलन गरिने
प्रकाशित २०७७ माघ २० मंगलबार
474
Shares
काठमाडौं। काठमाडौंका धार्मिक तथा प्राकृतिक सम्पदासहित खुला स्थानको संरक्षणका लागि अभियान चलाउँदै आइरहेका अभियन्ताहरूले ‘अकुपाइ टुँडिखेल’ मार्फत खुलामञ्च खाली गर्न अभियान सुरु गर्ने भएका छन् । खुलामञ्चलाई मासेर सडकमा राजनीतिक गतिविधिहरू हुन थालेपछि ‘अकुपाइ टुँडिखेल’ नामक अभियानमार्फत खुलामञ्चलाई नै खाली गराएर सोही स्थानमा राजनीतिक गतिविधि गर्न राजनीतिक दलहरूलाई आग्रह गर्न लागिएको हो ।
पछिल्लो समय राजनीतिक दलका विरोध प्रदर्शनका गतिविधिहरू सडक नै अवरुद्ध गरेर हुने क्रम बढ्न थालेपछि सडकमा सवारी साधन र यात्रीहरूलाई सास्ती हुँदै आएको छ । ‘अकुपाइ टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठले २०३६ को जनमतसंग्रहदेखि नै विभिन्न आन्दोलनको उद्घोष गर्ने थलोका रूपमा खुलामञ्च रहँदै आएकोले सो स्थान खुला गराउन पहल थालिएको बताए ।
उनका अनुसार बुधवार ‘अकुपाइ टुँडिखेल’ अभियानका अभियन्ताहरू खुलामञ्चबाट आफ्ना सामान हटाउन आग्रह गर्दै वीर अस्पतालको नेतृत्व समक्ष जाँदै छन् ।
यसै गरी उनीहरू केही दिन भित्रै दरबार हाइस्कुलको व्यवस्थापनसमक्ष समेत आफ्ना संरचना खुलामञ्चबाट हटाइदिन आग्रह गर्दै जाने तयारीमा छन् । खुलामञ्चको धेरैजसो भाग काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्कका लागि दिएको छ ।
यस्तै वीर अस्पतालले खुलामञ्चको केही भागमा निर्माण सामग्री राख्दै आएको छ भने उसले अस्पतालका लागि सोही स्थानको केही भागलाई पार्किङ बनाउँदै आइरहेको छ ।
यसै गरी २०७२ को भूकम्पपछि दरबार हाइस्कुललेसमेत खुलामञ्चको केही भागमा अस्थायी संरचना बनाएर विद्यार्थीहरूलाई पठन पाठन गराउँदै आइरहेको थियो । तर गत आइतबारबाट उसले भोटाहिटीमा बनेको नयाँ भवनबाट नै पठनपाठन सुरु गरिसकेको छ । तर उसका संरचना खुलामञ्चबाट हटाइएको छैन ।
दुई निकायमा औपचारिक आग्रहपछि अभियन्ताहरू काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य समक्ष खुलामञ्च खुला गराउन आग्रह गर्दै डेलिगेसन जाने तयारीमा छन् ।
त्यसपछि ‘अकुपाइ टुँडिखेल’ अभियानले खुलामञ्चमा नै पत्रकार सम्मेलन गरेर ७ फागुनमा सबै राजनीतिक दलका नेताहरूलाई बोलाएर कार्यक्रम गर्ने तयारीसमेत गरेको छ ।
२०३६ सालमा जनमत संग्रह घोषणा भएपछि पहिलो पटक बिपी कोइरालाले खुलामञ्चमा विशाल सभा आयोजना गराएका थिए ।
यसै गरी २०४६ सालको परिवर्तनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका नेताहरुले समेत खुलामञ्चलाई नै राजनीतिक गतिविधि गर्ने थलो बनाएका थिए ।
यस्तै २०६२/०६३ को दोस्रो जनआन्दोलन पछिसमेत खुलामञ्चबाट नै नेताहरूले लोकतन्त्रको जित भएको उद्घोष गरेका थिए ।