arrow

काठमाडौं महानगरलाई कोरोनाको दुर्घटनाबाट जोगाउन गगन थापाका छ बुँदे सुझाव

‘नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो’

logo
प्रकाशित २०७७ भदौ ८ सोमबार
corona-gagan-kathmandu-metr.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगनकुमार थापाले काठमाडौंलाई कोरोना महामारीको दुर्घटनाबाट जोगाउन तत्काल लागु गर्ने गरी छ बुँदे सुझाव दिएका छन् । आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य तथा महानगरका स्वास्थ्य विभागका प्रतिनिधिसमक्ष नेता थापाले कोरोनाको उच्च जोखिममा रहेको काठमाडौंलाई दुर्घटनाबाट जोगाउन छ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

उनले ‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ। पछिल्ला दिनमा काठमाडौँमा तीव्र रूपमा संक्रमण फैलिएको छ। महानगरपालिकाले अग्रसरता लिएर कन्ट्याक्ट ट्रेसिङ,परीक्षण र आइसोलेसन लगायतको प्रभावकारी व्यवस्थापन गर्नसके यो गतिलाई धेरै हदसम्म न्यून गर्न सकिन्छ’ भनेका छन् । 

नेता थापाले महानगर प्रमुख शाक्यलाई बुझाएको ध्यानाकर्षणमा यस्ता बुँदा रहेको सोमबार सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्, 

१, काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस् । हामी सँगै काम गर्न चाहन्छौं । तपाईँ सफल हुनु भनेको  हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो , त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् ।

२, महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ। यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ। यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।

३, कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड–टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन।

४, अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।

५, खाद्यान्न पसल दिनको १(२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने हुन्छ। त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने हुन्छ ।

६, कोरोना संक्रमणसंग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेका छन्।नगरवासी अलमलमा परेका छन् । नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्न ।

नेता थापाले उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण रहेको उल्लेख गर्दैै आफूहरु सबै सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् । उनले सबै तह र निकायसंग समन्वय गर्न पनि महानगर प्रमुख शाक्यलाई आग्रह गरेका छन् । उनले महानगरको संरचनालाई गतिशील बनाउन आग्रह गर्दै आवश्यक स्रोत र जनशक्ति परिचालन गर्न पनि जोड दिएका छन् । 

नेता थापाले भनेका छन्, ‘नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो।’



लोकप्रिय समाचार
नयाँ