काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १ पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ।
मौसमविद् सजिना शाक्यका अनुसार प्रदेश १ मा मौसम बिग्रिएको छ भने प्रदेश २ का पूर्वी तराईमा बाक्लो हुस्सु लागिरहेको छ । मुलुकभरमै फाट्फुट्देखि मध्यम खालको वर्षा भएको छ ।
मौसम बिग्रिएसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ । न्यूनतम तापक्रम बिहान १ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै अधिकतम तापक्रम १७–१९ हुने शाक्यले बताइन् ।
मंसिरमा पर्नुपर्ने हिउँ अहिले मात्र देखिएसँगै चिसो बढेको हो । चन्द्रागिरी, फुटचोकी लगायतमा हिउँ परेको छ । हिमाली भेगमा देशका सबैजसो स्थानमा हिउँ परेको छ ।
उपत्यकामा तुसारो परेको छ ।
दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।
महाशाखाले चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
वर्षासँगै हिमपातसमेत भएकाले मुलुकका केही सडकमा असर पुगेको समेत बताइएको छ ।
यता आइतबार बिहान ७ बजेसम्म कुनै फ्लाइट हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आइतबार माउन्टेन फ्लाइट स्थगित गरिएको जनाएको छ ।