बैतडी घटनाका दोषीलाई कारवाही गर्न नागरिक संस्थाको आग्रह
प्रकाशित २०७७ माघ २५ आइतबार
207
Shares
काठमाडौँ । बैतडीमा विद्यालयबाट घर फर्कँदै गर्दा यही माघ २१ गते भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटनाप्रति निन्दा गर्दै बाल अधिकार र मानवअधिकारसँग सम्बन्धित संस्थाहरूले दोषीलाई कारबाहीको माग गरेका छन् ।
बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) लगायत सञ्जालले ‘यस्ता मानवता विरोधी जघन्य अपराधहरू निरन्तर हुनु सभ्य र सुसंस्कृत समाज निर्माणका लागि गम्भीर चुनौती भएको जनाएका हुन् । सिजपका अध्यक्ष नरेन्द्र डङ्गोलले तीनै तहका सरकारबाट मानवता विरोधी जघन्य अपराधहरू हुन नदिन सचेतना र जागरण अभियान सञ्चालन गर्न र उक्त कार्यमा लगानी बढाउन सरकारलाई आग्रह गरे ।
घटनाको अनुगमन गर्न र पीडितलाई न्याय दिन पहल गर्नुपर्ने अपिल गर्दै आइतबार विभिन्न संस्थाले विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा ऐक्यबद्धता जनाउनेहरूमा महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन), बाल सहभागिताका लागि कार्यरत संस्थाहरूको साझा समूह (कन्र्सोटियम नेपाल), राष्ट्रिय बाल संरक्षण सञ्जाल, बाल अधिकार समिति, मानव अधिकार सन्धि अनुगमन केन्द्र, बालअधिकारवादी सहकर्मी संस्थाहरूको राष्ट्रिय मञ्च, बालगृह सञ्जाल नेपाल (सिनेट नेपाल), लगायतका सङ्घसंस्था छन् ।