श्रोत र साधनलाई सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल
प्रकाशित २०७७ माघ २५ आइतबार
235
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध श्रोत र साधनलाई सही रूपमा सदुपयोग गर्न नसक्दा विकास र सम्मृद्धिको यात्रामा पछि परेको बताएका छन्।
शनिवार तुलसीपुर उद्योग वाणिज्य सङ्घको २६औँ साधारण सभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक श्रोत र साधनहरू हुँदाहुँदै पनि देश विकास र सम्मृद्धिको यात्रामा पछाडि परेको बताएका छन्।
“हामीसँग प्रशस्त मात्रामा प्राकृतिक श्रोत र साधनहरू छन् । यसलाई हामीले सही रूपमा सदुपयोग गर्न सकिरहेका छैनौ। यी उपलब्ध श्रोत तथा साधनको सहीपुरमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र समृद्धि असम्भव छैन। यसकालागि राज्य र निजी क्षेत्र बिच सहकार्य पनि जरुरी हुन्छ,” उनले भने। कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरू पुरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताए।
“हुन त स्थानीय समस्याहरू समाधान गर्न तपाईँहरू स्थानीय नेतृत्व नै पूर्ण सक्षम हुनुहुन्छ। तर हामीले निर्वाचनका समयमा गरेका वाचाहरू पुरा गनेर्छौं। तपाईँहरूलाई भोगेका समस्याहरूको समाधानकालागि पहल गर्नेछौँ र ती समस्या समाधान गर्नेछौँ,” उनले भने।
निजी क्षेत्रलाई राज्य तथा यसका निकायहरूबाट हेर्ने परम्परागत दृष्टिकोणले समस्या पारेको बताउँदै उहाँले निजी क्षेत्र व्यावसायिक मात्र हुन्, नाफाका लागि मात्र काम गर्छन्, सामाजिक उत्तरदायित्व लिँदैनन् भन्ने परम्परागत धारणालाई परिवर्तन गर्नुपर्ने छ।
तर, यस नगरपालिकामा मैले त्यो नितान्त भिन्न पाएको छु। निजी क्षेत्रलाई सरकारको विकासको साझेदारको रूपमा हेर्ने उहाँको यस दृष्टिकोणले हामीलाई हौसला मिलेको छ। साँच्चिकै उत्साहित बनाएको छ, उनले भने।
यसरी निजी क्षेत्रलाई विकासको साझेदारको रूपमा हेर्ने हो भने हामीले धेरै भन्दा धेरै रोजगारी सृजना गर्ने, राजश्व सङ्कलन गर्ने र पूर्वाधार विकासमा साझेदारको रूपमा काम गर्न सकिन्छ। सबै स्थानीय तह, प्रदेश तथा केन्द्रको यस प्रकारको व्यवहार हामी निजी क्षेत्रले अपेक्षा गरेका छौँ। यसले मात्र हामीलाई विकास र सम्मृद्धिको बाटोमा सहकार्य गरेर अगाडि बढ्न सहयोग पुग्ने आफूले विश्वास लिएको बताए।
उनले तुलसीपुर उद्योग वाणिज्य सङ्घको २६औँ साधारण सभा अधिवेशनसहितको साधारण सभा भएको हुनाले यस साधारणसभाले सक्षम नेतृत्व चयन गर्न सकोस् भन्ने कामना गरे। साथै उनले नेपाल उद्योग वाणिज्य महासङ्घको भर्खरै सम्पन्न ५४औँ वार्षिक साधारणसभामा आफूलाई विजयी गराउन भूमिका खेल्नुहुने तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरे।