काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
मौसमविद् रोजिना शाक्यका अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै भिजिबिलिटी ५ किलोमिटर रहेको छ । अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहने छ ।
मंगलबार अन्यत्र वर्षा हुने सम्भावना नरहे पनि राति उत्तर हिमाली भेगमा हिमपातको सम्भावना रहेको शाक्यले बताइन् ।
दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।