काठमाडौं । मुलुकभर एकाएक मौसममा परिवर्तन आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । महाशाखाले सोमबारदेखि स्थिति सामान्य बनेको बताए पनि बुधबार बिहानदेखि एकाएक मौसममा परिवर्तन आएको हो ।
मौसमविद् निराजन सापकोटाले हाल देशभर आंशिकदेखि सामान्य बदली भएको बताए । उनले वायु पश्चिमबाट पूर्वतिर सर्दै गएको बताए । उनले बिहान १० बजेपछि काठमाडौं आएर पनि उक्त वायु पूर्वतिर अगाडि बढेको बताए ।
मौसममा एकाएक आएको परिवर्तनलाई सामान्य भन्दै उनले एक दुई वटा यस्ता प्रकृतिका परिवर्तन आइरहने बताए ।
उनले भने, ‘यो लामो समयसम्म बस्ने र पानी पार्ने हुँदैन । बेलुकासम्म सामान्य भइसक्छ ।’
सापकोटाले कर्णाली र सुदूरपश्चिमका केही भागमा हल्का वर्षा गराउने बताए ।
काठमाडौं उपत्यकामा पनि एकाएक चिसो भएको छ । न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम २० देखि २२ डिग्री हुनेछ । काठमाडौंमा वर्षा भने नहुने मौसमविद् सापकोटाले जनाए ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।