काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसमविद् बरुण पौडेलका अनुसार उपत्यका लगायत देशैभरको मौसम सामान्यतया सफा रहेको छ । तराईका एक दुई स्थानमा हुस्सु देखिएको छ । घाम लागेसँगै यो पनि हटेर जानेछ ।
पानी पर्ने सम्भावना शनिबार र आइतबार कम रहेको छ । पहाडी भूभागका केही स्थानमा फाट्फुट् वर्षा हुन सक्ने पौडेलले बताए ।
काठमाडौं उपत्यकाको मौसम सफा रहेको छ । बिहान ७ बजेको भिजिविलिटी ६ किलोमिटर रहेको छ ।
न्यूनतम तापक्रम शनिबार बिहान ५.५ डिग्री सेल्सियस रह्यो । अधिकतम तापक्रम २२ देखि २४ डिग्रीसम्म पुग्ने पौडेलले बताए ।
दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने छ ।