काठमाडौं । निम्न आय भएका विश्वका विभिन्न मूलुकहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन अघि सारिएको सुविधा कार्यक्रमले कोभ्याक्सले पहिलो खोप अभियान घानामा सुरु गरेको छ ।
कोभ्याक्स विश्व स्वास्थ्य सङ्गठन, ग्लोबल भ्याक्सिन अलायन्स’ (गाभी), युनिसेफ, सीईपीआई लगायतका संस्थाको सहकार्यमा चलेको कार्यक्रम हो ।
भारत बाहिर कोभ्याक्स सुविधा अनुरूपको खोप पाउने पहिलो मुलुक घाना बनेको हो । भारतको सेरम इन्सिट्युटले उत्पादन गरेको कोभिसिल्डको ६ लाख डोज खोप हिजो मात्रै घानाको राजधानी अक्रा पुगेको हो ।
कोभ्याक्स सुविधा अन्तर्गतका खोप फागुन अन्तिम सातासम्म नेपाल पनि आइपुग्ने भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । नेपालमा पनि २० प्रतिशतलाई पुग्ने गरी खोप दिने कोभ्याक्सको योजना छ । तर, चरणवद्ध रुपमा खोप उपलब्ध हुनेछ ।
महामारीलाई नियन्त्रण एवं समाप्त गर्नका लागि चाँडो भन्दा चाँडो विश्वभर जोखिम समूहरुलाई खोपको व्यवस्था गर्ने उद्देश्य कोभ्याक्सको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले अप्रिलको सुरुसम्म कोभ्याक्स सुविधा अन्तर्गतका सबै देशमा खोप उपलब्ध गराउने बताएका छन् । यसै योजना अनुरूप अफ्रिकी मुलुक घानामा हिजो खोप पुगाइएको हो ।
सन् २०२१ सम्म २ अर्ब डोज खोप विभिन्न देशमा पुर्याउने उद्देश्य कोभ्याक्सको छ । त्यसमध्ये निम्न आय भएका ९२ देशका लागि कम्तीमा १.३ अर्ब डोज खोप विभिन्न दाताहरूबाट यो कार्यक्रमले जुटाउने छ ।