काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ ।
बिहीबार सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारीसहित पूर्व पदाधिकारीहरूको बैठकले अहिले नै सत्ता सहकार्य बारे निर्णय नगर्ने निष्कर्ष निकालेको हो ।
कांग्रेस सह महामन्त्री डा. प्रकाशसरण महतले हालसम्म वैधानिक रूपमा नेकपा एउटै रहेको निष्कर्ष पार्टीको रहेको र संसद सुरु भएपछि प्रस्तुत हुने शैली र अवस्था हेरेर पार्टीले निर्णय लिने बताए ।
‘अहिलेसम्म नेकपा वैधानिक रूपमा एउटै छ भन्ने बैठकको निष्कर्ष हो, संसद्मा उनीहरू कसरी प्रस्तुत हुन्छन्, अवस्था हेरेर निर्णय हुन्छ, अहिले नै स्थिति परिपक्क भएको छैन,’ कांग्रेस सह महामन्त्री महतले भने ।
कांग्रेस बैठकले नेकपा विवादको अन्तिम टुङ्गो नलाग्दासम्म कुनै समूहसँग पनि सत्ता सहकार्य नगर्ने निष्कर्ष निकालेको हो । बैठकमा संसद पुनर्स्थापनापछिको विकसित राजनीतिक अवस्थाका विषयमा छलफल भएको महतले जानकारी दिए । बैठकमा सभापति देउवाले नेकपाको दुवै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै नेताहरूका राय मागेका थिए ।