हुम्ला । हुम्ला सदरमुकाम सिमकोट देखि ४४ कोष टाढा पर्ने श्रीनगर स्वास्थ्य चौकी अहिले ग्यारेजमा परिणत भएको छ । अदानचुली गाउँपालिकाले वडा अध्यक्षहरूका लागि ल्याइएका दश वटा मोटरसाइकल अहिले बिरामी भएर श्रीनगर स्वास्थ्य चौकीमा भर्ना भएका छन् । स्वास्थ्य चौकीलाई मोटर साइकल ग्यारेज बनाउँदा स्वास्थ्य चौकी नै दुर्गन्धित भएको छ ।
अदानचुली गाउँपालिका वडा नं. ३ श्रीनगरमा रहेको स्वास्थ्य चौकीमा बिरामीको उपचारका लागि राखिएका बेड वरिपरि मोटरसाइकल राखिएका छन् । बिरामी निको हुन स्वास्थ्य संस्थामा जान्छन् तर ग्यारेजमा परिणत भएको श्रीनगर स्वास्थ्य चौकीमा स्वास्थ्य मान्छे गए पछि बिरामी हुने अवस्थामा रेहेको स्थानीय गोविन्द रोकायाले बताए ।
गाउँपालिकाको केन्द्रमा रहेको श्रीनगर स्वास्थ्य चौकीमा विगत (९) महिना देखी पालिकाले दस वटा र केही ब्याक्तिगत मोटरसाइकल स्वास्थ्य चौकी भित्र भण्डार गरी राखिएकाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्थानीय सरकारका जिम्मेवार ब्यक्ती को लापरबाहीले स्वास्थ्य क्षेत्र नै प्रभावित भएको स्थानीय धनराज धामीले बताए । यी दश वटा मोटरसाइकल किनेको रकमले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सुविधा सम्पन्न बनाउन सकिन्थ्यो । यसो नगरी वडा अध्यक्षहरूका लागि भनेर पालिकाले बाइक किन्यो बाइक किनेर फजुल रकममा खर्चिनु भन्दा यसको साटो एम्बुलेन्स, स्वास्थ्य उपकरण, औषधिका साथै बिरामी उपचारका लागि सहयोग गर्ने स्वास्थ्य सामाग्री खरिद गरेको भए कति उदाहरणीय काम हुन्थ्यो धामीले भने !
यसरी स्वास्थ्य संस्थामा सवारी साधन पार्किङ गर्नु नपर्ने हो यसले गर्दा स्वास्थ्य चौकीमा उपचारका लागि आएका बिरामीलाई असहज हुनुका साथै स्वास्थ्य चौकी दुर्गन्धित हुदा समस्या भएको छ । ठाउँ नउद्या बाध्यताले स्वास्थ्य चौकी भित्र मोटरसाइकल राख्नु परेको श्रीनगर स्वास्थ्य चौकी इन्चार्ज रामेश्वर थापाले बताए । अबको केही महिनामा पालिकाले मोटरसाइकल राख्नका लागि अस्थायी कटेरो बनाउँदै छ घर बने पछि यो समस्या समाधान हुने उनले बताए ।
सङ्घीयताको कार्यान्वयन सँगै प्रत्येक वडामा कम्तीमा एउटा स्वास्थ्य संस्था स्वास्थ्य चौकी वा उप-स्वास्थ्य चौकी, इलाका भए पनि स्थापना गर्ने पर्ने राष्ट्रिय स्वास्थ्य नीति भएकाले जस अनुसार भौगोलिक र जनसङ्ख्याको अनुपातका आधारमा मापदण्ड बनाई बढीमा ३० मिनेटको दूरीमा कम्तीमा एक गाउँ एक स्वास्थ्य चौकी हुनु पर्थ्यो त्यो हुन सकेको छैन । प्रत्येक वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा) सञ्चालन गर्नु पर्ने हो तर पालिकाले यो पनि गर्न सकेको छैन ।
५ वटा वडा रहेको अदानचुली गाउँपालिकामा वडा नं. ३ र ५ मा मात्र बर्थिङ सेन्टर (प्रसूति सेवा) छन् । त्यही बर्थिङ सेन्टर (प्रसूति सेवा) मा सुत्केरी हुन आएका आमाहरूले प्रोत्साहन बापत पाउने बाटो खर्च समेत पाएका छैनन् भने स्वास्थ्य क्षेत्रमा अरू के प्रगतिको आशा गर्ने आमा सुत्केरी भएर बच्चा ७, ८ महिनाको भई सक्दा पनि सुत्केरी हुन आएका आमाहरूले प्रोत्साहन बापत पाउने बाटो खर्च अहिले सम्म नपाएको आदानचुली गाउँपालिका स्तरीय नागरिक समाज श्रीनगरकी संयोजक एवं महिला अगुवा तारा भण्डारीले बताइन ।
पहिला संघीय सरकार उपेक्षित गरेकाले भने अनुसारको विकास हुन नसकेको भने पनि अहिले घरदैलोमै स्थानीय सरकार आधा पनि हामीले सोचे अनुसारको विकास नभएको भण्डारीले बताइन । उनले भनिन् स्थानीय जनता कोही पनि होइनन् सर्वेसर्वा हामी नै हुँ भन्ने स्थानीय सरकारका जनप्रतिनिधिको दम्भका कारण स्वास्थ्य चौकी ग्यारेज र पार्किङ स्थल बनेको हो ।