सत्ता सहकार्यका लागि एमाले र जसपाको संयुक्त कार्यदल बन्यो, छलफल शुरु
रेशम चौधरीको रिहाइ प्रस्ताव
प्रकाशित २०७७ फागुन २५ मंगलबार
116
Shares
काठमाडौं। सर्वोच्च अदालतको आइतबारको फैसलापछि सत्ता समीकरणको नयाँ कोर्स अघि बढिरहेका बेला पुरानै अवस्थामा फर्किएको सत्तारुढ दल नेकपा एमाले र विपक्षमा रहेको जसपाबीच सत्ता सहकार्यका लागि कार्यदल गठन भएको छ ।
सत्ता समीकरण र सहयात्रा बारे छलफल गर्न भन्दै सत्तारुढ र विपक्षमा रहेका दुवै दलले संयुक्त कार्यदल बनाएका हुन् । कार्यदलमा सत्तासीन एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई छन् ।
यसै गरी हाल विपक्षी भूमिकामा रहेको जसपाबाट नेता सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण कार्यदलमा छन् । कार्यदलका सदस्यहरूबीच कसरी अघि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।
स्रोतका अनुसार कार्यदलमा जसपाका तर्फबाट रहेका नेताहरूले थुनामा रहेका नेता रेशम चौधरीलाई रिहाइ गरेर अघि बढ्ने गरी प्रस्ताव गरेका छन् । सो सर्तमा एमालेतर्फका नेताहरू सहमत छन् । कार्यदल गठन बारे जसपाको मङ्गलवारको संसदीय दलको बैठकमा नेता महन्त ठाकुरले जानकारी दिएका थिए ।
सर्वोच्च अदालतको आइतबारको फैसलापछि एमाले संसद्मा १२१ सिटसहित पहिलो दलको हैसियतमा छ । उसलाई प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्ने अवस्था आए अन्य दलका केही सांसद आवश्यक पर्छ । विश्वासको मत लिन २७५ सांसद रहेको प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई १३७ मत आवश्यक पर्ने देखिन्छ ।
त्यो अवस्थालाई मध्यनजर गर्दै दुई दलबीच छलफल गर्न भन्दै कार्यदल नै बनाइएको हो । तर सिङ्गो जसपा भने यो कार्यदल बनेकामा सन्तुष्ट छैन ।
जसपाका अधिकांश नेताहरू वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने पक्षमा छन् । यो पक्षमा जसपाका नेताहरू डा.बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका नेताहरू देखिएका छन् ।