काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले किम जोङ उन नेतृत्वको उत्तर कोरियासँग सम्पर्क गर्न खोजे पनि त्यहाँबाट कुनै प्रतिक्रिया आएको छैन ।
फेब्रुअरीको मध्यबाट अमेरिकाले थुप्रै पटक उत्तर कोरियासँग सम्पर्क गर्न खोजेको तर, त्यसको कुनै जवाफ नपाएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
बढ्दो तनाव र खतरा न्यूनीकरणका लागि बाइडेन प्रशासनले थुप्रै माध्यमबाट उत्तर कोरियाली नेता उनसँग सम्पर्क गर्न खोजे पनि प्योङयाङबाट कुनै प्रतिक्रिया नआएको अमेरिकी सरकारका एक उच्च अधिकारीले सीएनएनलाई बताएका छन् ।
उत्तर कोरियाले विकास गर्दै आएका आणविक हतियार अमेरिका र सिंगो विश्वकै लागि चिन्ताको विषय हो । त्यसलाई रोक्न अमेरिकाले पहल चाल्दै आए पनि सफल भएको भने छैन ।
तत्कालीन डोनाल्ड ट्रम्प प्रशासनमा ट्रम्प र उनबिच दुई पटक भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ताले दुवै पक्षलाई सहमतिमा ल्याउन भने सकेन ।
अहिले बाइडेन प्रशासनले उत्तर कोरियामाथि लागु गर्ने नीतिका लागि त्यहाँ सम्पर्क गर्न खोजिएको बुझिन्छ । तर, प्योङयाङले प्रतिक्रिया नदिँदा बाइडेनको नीति कस्तो हुनेछ भन्ने कुरा भोलिका दिनमा थाहा हुने देखिन्छ । अमेरिकाले उत्तर कोरियामाथि लगाएका प्रतिबन्ध जारी छन् ।