काठमाडौं । सगरमाथा चढ्न नेपाल आएका बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफाले अनुमति बिनै कोरोना भाइरसको खोप नेपालमा ल्याएको खुलासा भएको छ । उनी गत सोमबार झण्डै दुई हजार डोज एस्ट्राजेनेका खोप लिएर नेपाल आएका हुन् ।
यसबारेमा नेपालका औषधी नियामकहरुले कसरी आफ्नो अनुमति बिना राजकुमारले नेपालमा खोप ल्याउन सफल भएन भनेर अनुसन्धान गरिरहेको बीबीसीले लेखेको छ ।
बहराइन दूतावासले जनाए अनुसार ती राजकुमारले गोरखा जिल्लाका केही मानिसहरुलाई उक्त खोप दिन चाहेका थिए । भ्रमण व्यवस्थापन गरिरहेको सेभेन समिट्स ट्रेकका एकजना प्रवक्ता थानेश्वर गुरागाईँले मिडियालाई बताएअनुसार सात दिन क्वारेन्टिनमा बसेपछि राजकुमारको टोली गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका जानेछ।
त्यहीँको सामागाउँमा उक्त खोप दिने योजना बनाइएको उनले बताए । त्यसपछि सगरमाथा आरोहण गर्ने राजकुमारको योजना रहेको बताइएको छ।
यो विषयमा औषधी व्यवस्था विभागले त्यो खोप कसरी नेपाल भित्रन सक्यो भनेर औपचारिक छलफल थालिएको बताएको छ । उक्त खोप ल्याइएकोबारे स्वास्थ्य मन्त्रालय र विभाग बेखबर छ ।