काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल समूहको राष्ट्रिय भेला झलनाथ खनालको अध्यक्षतामा शुरु भएको छ। भेलामा एमाले नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलालाई रोक्न हर सम्भव प्रयास गरेको थियो । ओली पक्षले राष्ट्रिय कार्यकर्ता भेलालाई नरोके वा त्यसमा सहभागी भए कारबाही गर्नेसम्मको चेतावनी समेत दिएको थियो ।
माधवकुमार नेपाल विशेष अतिथिका रूपमा भेलामा उपस्थित भएका छन्। उक्त भेलामा राधाकृष्ण मैनाली, कमल कोइराला, सिद्धिलाल श्रेष्ठको पनि उपस्थिति रहेको छ। एमालेका नेताहरू अष्टलक्ष्मी शाक्य, भीम रावल, गोकर्ण विष्ट, युवराज ज्ञवाली लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ।
ओली पक्षका ईश्वर पोखरेलले मङ्गलवार साँझ विज्ञप्ति प्रकाशित गरी भेलामा सहभागी हुने सांसदहरूलाई पार्टी संसदीय दलको विधानबमोजिम कारबाही गरी सांसद पदबाट हटाउने चेतावनी दिएका थिए भने अन्य नेताहरूलाई पनि कारबाही गर्ने चेतावनी दिएका थिए । महासचिव पोखरेलले पार्टीको राष्ट्रिय भेलाको कार्यक्रम नरहेको भन्दै सो भेलालाई ‘गुटगत’ भेलाको संज्ञा दिएका थिए ।