काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय कुमार चुँडाल र नकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
समितिको बुधवारको बैठकले उनीहरूको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुनासो एवं उजुरी भए समितिलाई जानकारी दिन सरकारी सञ्चारमाध्यममा १० दिने सूचना प्रकाशन गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
न्यायाधीश चुँडाल हाल उच्च अदालत पाटन र सुवेदी उच्च अदालत सुर्खेतमा मुख्य न्यायाधीश छन् । न्याय परिषद्को फागुन २८ गतेको बैठकले उनीहरूलाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि संसद् सचिवालयलाई जानकारी पठाएको थियो ।
उच्च अदालतमा कार्यरत मुख्य न्यायाधीशमध्ये न्यायाधीशका लागि आवश्यक सेवावधि, शैक्षिक योग्यता, कार्यसम्पादन, वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमानदारी, निष्पक्षता र नैतिक आचरण, न्यायिक क्षेत्रमा पुर्याएको योगदान र प्राप्त ख्यातिका आधारमा तुलनात्मकता योग्यतम देखिएकालाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरिएको परिषद्ले जनाएको छ ।
समितिले प्राप्त उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइमार्फत योग्यता, क्षमता, आचरण र भावी कार्यदिशाबारे जानकारी लिएपछि नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय लिनेछ ।