काठमाडौं। नेकपा एकालेका नेता माधवकुमार नेपालले केपी ओलीले पूर्व एमालेको सङ्गठनात्मक संरचना, राजनीतिक वैचारिक मान्यता र त्यसका सबै नेतृत्व यथावत् राख्न गरिएको प्रस्ताव नटेरेको बताएका छन् ।
बुधवारबाट काठमाडौंमा शुरु आफू पक्षीय नेता कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपालले एमाले अध्यक्ष ओलीले कसैलाई पनि नटेरेको बताए ।
‘हामीले ६ वटा प्रस्ताव गर्यौ, पूर्व एमालेको सङ्गठनात्मक संरचना, राजनीतिक वैचारिक मान्यता र त्यसका सबै नेतृत्व यथावत् राख्न गरिएको मागसहितका प्रस्ताव उहाँले टेर्नु भएन,’ नेपालले भेलालाई सम्बोधन गर्दै भने ।
पार्टीलाई विधि, विधान र सिद्धान्तका आधारमा चलाइनु पर्ने, पार्टीका बैठक निवासमा नभएर पार्टी कार्यालयमा गरिनु पर्ने, पुनः सिङ्गो कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु पर्ने, वामपन्थीकै सरकार सरकार बनाइनु पर्ने लगायतको माग आफूहरूले अध्यक्ष ओलीलाई राखेको नेपालले भनेका छन् ।
पूर्व एमालेलाई बलियो बनाएर र सुदृढ बनाएर अघि बढ्न गरेको पटक पटकको पछिल्लो प्रस्ताव ओलीले नटेरेपछि भेला आयोजना गरिएको नेपालले बताएका हुन् ।
बरु उल्टै कसैलाई थाहै नदिई सुटुक्क बालुवाटारमा भेला गरेर आफ्ना पक्षका नेताहरूलाई कारबाही गरिएको नेपालले भनेका छन् ।
यसै गरी पार्टीको १०औं बैठक र एघारौं बैठक नगराई एकै पटक १२औं बैठक गरेको भन्दै नेपालले बीचको बैठक कहाँ गयो ? भन्दै प्रश्नसमेत गरेका छन् ।