बाँके बनकट्टीका सई जैशीले दिए तरुण दल अध्यक्षलाई धम्की, आन्दोलनको चेतावनी
सौरभ गिरी,
प्रकाशित २०७७ चैत ६ शुक्रबार
114
Shares
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँके अन्तर्गत इलाका प्रहरी कार्यालय विवादास्पद प्रहरी नायब निरीक्षक (सई) रणधीर जैशीले धम्की दिएको प्रति नेपाल तरुण दल नेपालगन्जले आन्दोलन गर्ने चेतावनी दिएको छ।
सई जैशीले नेपालगन्ज तरुण दलका नगर सभापति सन्दीप जङ्ग शाहलाई फेसबुकको म्यासेजमार्फत कपोकल्पित समाचारको विषयलाई लिएर दिएको धम्कीको विषयमा तरुण दल नेपालगन्जले विज्ञप्ति मार्फत ध्यानाकर्षण भएको जनाएको छ।
तरुण दलले प्रहरी नायब निरीक्षक जैशीको यो कार्यप्रति घोर भर्त्सना समेत गरेको छ। नगर सभापति शाहलाई समेत उक्त समाचारको विषयमा जानकारी नै नभएको अवस्थामा सोही समाचारका विषयमा जैशीले धम्कीपूर्ण भाषा प्रयोग गरेर मानहानि गरेकाले तरुण दलले घोर आपत्ति प्रकट गरेको नगर सदस्य आयुष शाह र सम्भ्रान्त विक्रम शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
तरुण दलले वास्तविक कुरा नबुझी धम्कीको पारामा आक्षेप लगाएर सामाजिक सञ्जालको दुरुपयोग बन्द गर्न नायब निरीक्षक जैसीलाई चेतावनी दिएको छ। यस्ता कार्य बन्द नगरेमा तरुण दलले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।
नायब निरीक्षक जैशी इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत रहँदा खोलाका ठेकेदार लगायत अन्य यातायात व्यवसायीहरू सँग पैसा लिएको आरोप लागेको थियो ।
विवादमा आएका प्रहरी नायब निरीक्षक जैसीलाई आरोप पश्चात् जिल्ला प्रहरी बाँके तानिएको थियो। कोहलपुरबाट आरोप लागेर तानिएका जैसीलाई जिल्ला प्रहरी बाँके उल्टै इलाका प्रहरी बनकट्टीको कमान्डर बनाएर पठाएको छ।