झापा । पूर्वी नेपालको सिमाना मेची नदी पूर्वका चार वटा बस्ती नेपाली भूभाग भित्र पर्दछन् । तीमध्ये झापाको मेचीनगर नगरपालिका वडा न १५ स्थित तीन वटा बस्ती मध्येको ग्वाल बस्तीका १७ घरमा आज (शनिवार ) देखि बिजुली बत्ती बलेको छ ।
शिक्षा, स्वास्थ्य र यातायात लगायतका विकासको आधारभूत पूर्वाधार बाट विमुख उक्त गाउँका अधिकांश बासिन्दाहरू अझै टुकी र लालटिनको धिपधिपे उज्यालोमा जीवन गुजारा गर्न बाध्य थिए । केही घरहरूमा भने वैकल्पिक सौर्य ऊर्जा जडान गरी दुई वटा बल्ब सम्म बल्ने सौर्य उपकरण जडान गरी प्रयोग गरेको पाइन्छ ।
बर्षौ देखि अन्धकारको सामना गरिरहेको मेचीपारिको ग्वालवस्तीमा मेचीनगर नगरपालिका र नेपाल विद्युत् प्राधिकरण भद्रपुर वितरण केन्द्रले बिजुली बत्ती पुर्याएको हो ।
मेचीनगर क्षेत्रमा मेची नदीपारि रहेको ग्वालवस्तीमा, सिसौ डाँगी र झाडुवस्तीमा करिब एक सय पचास घर परिवार बसोबास गर्दै आएका छन् । ती मध्ये ग्वालवस्तीका १७ परिवारलाई आजै बाट निःशुल्क विद्युतीय मिटर जडान गरी विद्युत् सेवा उपलब्ध गराइएको हो ।
सेवा हस्तान्तरण कार्यक्रम अन्तरगतको घरदैलो कार्यक्रममा मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्य र उप-प्रमुख मिना उप्रेतीले संयुक्त रूपमा बिजुलीको स्विच थिचेर बत्ती बालेका बिजुलीको बटन थिचेर ग्वाल बस्तीमा विद्युत् सेवा हस्तान्तरण गरेका थिए ।
त्यस गरी विद्युतीय सेवा बिस्तार नभएका मेचीनगर नगरपालिकाका अन्य बस्तीहरूमा समेत विद्युतीय सेवा प्रवाहका लागि धमाधम पोल गाड्ने काम भइरहेको मेचीनगर वडा नम्बर १५ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी गराएका छन् ।
बाँकी रहेका दुई बस्तीमा यसै महिनाभित्र बिजुली बाली सक्ने लक्ष्य रहेको उनी बताउछ्न् ।
मेचीपारिका बस्तीमा प्रायः यादव, र सन्थाल जातिको बसोबास रहेको छ सन्थाल जाती नेपालकै लोपोन्मुख जाती अन्तरगत पर्दछ ।
हरेक बर्सको बर्सात समयमा मेची नदीमा बाढी आउँदा यी बस्ती नेपालतिरको भूभागबाट कम्तीमा तीन महिना सम्म सम्पर्क विच्छेदको अवस्थामा रहन्छन् । त्यहाँका स्थानीयवासीले वर्षौँ देखि नदीमा पुलको माग गर्दै आए उनीहरूको उक्त माग हाल सम्म सुनुवाइ हुन सकेको छैन ।
मेचीनगर नगरपालिकाले नदीमा झोलुङ्गे पुल निर्माणको पहल गरिरहेको उपप्रमुख मिना उप्रेतीले बताइन् । हाल मेची पारिको तीन बस्तीमा एउटा आधारभूत विद्यालय सञ्चालनमा रहेको छ ।
नदीमा पुल नभएका कारण नदी पश्चिमबाट शिक्षकहरू बर्खा याममा विद्यालय जान नसक्दा पठनपाठन समेत अवरुद्ध हुने गरेको छ । राज्य पुनर्संरचना अनुरूप स्थानीय तहहरूमा आधारभूत आवश्यकताका संरचना धमाधम निर्माण हुँदै गरेको पाइए पनि मेची पारिको यो भूभाग भने ओझेलमा परेको देखिन्छ ।
विकास र समृद्धिको लहर र जनता लाई समान सेवा प्रवाह गराउने राज्यको दायित्व अनुरूप आधारभूत पूर्वाधार र सार्वजनिक सेवा प्रवाहमा राज्यको ध्यान केन्द्रीय हुनुपर्ने मेची नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम राज ओझाले बताए ।