सरकारमा जाने मनस्थितिमा जसपा : महन्थ-राजेन्द्र बालुवाटारमा, उपेन्द्र-बाबुरामको बहिष्कार
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत १० मंगलबार
99
Shares
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमतिका लागि भन्दै बालुवाटार पुगेका छन् ।जसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोका साथै शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमन्त्रीसँग वार्ताका लागि बालुवाटार पुगेका हुन् । अहिले वार्ता जारी छ ।
उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई सरकारमा टिकाउन सघाउने गरी जसपा सरकारमा जाने विषयमा सहमति बनिसकेको छ । तर आफूहरूले उठाएका मुद्दालाई कसरी मिलाएर जाने भन्नेमा जसपाले निर्णय लिन सकेको छैन ।
जसपासँग प्रधानमन्त्री ओलीले सांसद रेशम चौधरीको विषयमा अदालती प्रक्रिया पुर्याएर छाड्ने गरी सहमति गर्ने सम्भावना बढेको छ । जसपाले उधारो सहमतिमा सरकारमा जना गाह्रो हुने भन्दै लिखित प्रतिबद्धता खोजेको छ ।
यस्तै उनीहरूले उठाउँदै आएको संविधान संशोधनका विषयमा पनि ओली सहमतिका लागि तयार भएका छन् । संशोधनको मुद्दा सरकारमा गएपछि गर्न सकिने प्रधानमन्त्रीको आश्वासन छ ।
जसपा नेतृ चन्दा चौधरीले जसपाले रेशम चौधरीको रिहाइ, संविधान संशोधनसहित विभिन्न राजनीतिक आन्दोलनका क्रममा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताहरूको मुद्दा खारेजी र उनीहरूको रिहाइको माग पनि गरेको जानकारी दिइन् ।
यसै गरी नागरिकताको विषयलाई पनि जसपाले मुद्दाका रूपमा अघि सारेको नेतृ चौधरीले बताएकी छन् ।
‘माग पुरा गर्ने सहमति भयो भने सरकारमा जान्छौं, तर सहमति हुनु पर्यो, केही अहिले होला केही पछि होलान् तर लिखित सहमति हुनुपर्छ,’ नेतृ चौधरीले हाम्राकुरासँग भनिन् ।
तर जसपा अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईसहित राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, राजकिशोर यादव तथा शरतसिंह भण्डारी सहितका नेताहरू भने सरकारमा जाने र प्रधानमन्त्री ओलीलाई सघाउने पक्षमा छैनन् । उनीहरूले सो विषयमा असहमति राख्दै आइरहेका छन् ।
अहिले जारी बालुवाटार बैठकमा उपेन्द्र र बाबुरामसहितका नेताहरू गएका छैनन् । उनीहरूले बालुवाटार बैठकलाई बहिष्कार गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकार जोगाउन जसपाको समर्थन लिने प्रयास लामो समयदेखि निरन्तर गर्दै आएका छन् । त्यसका लागि दुबै पक्षबीच निरन्तर संवाद हुँदै आइरहेको छ ।