काठमाडौं । बा४ख २७२४ नम्बरको हारती अजिमा मिनी बस भक्तपुरका गङ्गाराम खाइजुले हाँक्छन् । यो बस काठमाडौं बागबजार बस पार्कबाट नयाँ बाटो भक्तपुर, क्यान्सर हस्पिटल हुँदै ब्यासी रुटमा चल्छ । तर बसभित्र अनौठो नियमहरू छन् । चढिसकेपछि यात्रुहरू आश्चर्यमा पर्छन् । धेरै बेर बसभित्रको दृश्य नियाल्छन् ।
सहचालक नै नभएको बस नाम र नम्बरले नभई ‘गङ्गारामको बस’ले चर्चित छ । लामो दूरीको सुविधा सम्पन्न यात्रुवाहक बस वा हवाईजहाजमा जस्तैजस्तै नियम गङ्गारामको बसभित्र छ । बस चढेर यात्रा गरिसकेपछि सुविधाको मजाले उपभोग गर्न पाइन्छ । बसभित्र सन्देशमूलक प्लाकार्डले भरिभराउ छ । बसमा खानेपानी र चाउचाउ उपलब्ध छ । खान मन लाग्नेले पैसा तिरेर खान्छन् ।
बोतल, प्लास्टिक र अन्य फोहोर फाल्न ढोकानिर डस्टविन राखिएको छ । २०५७ सालदेखि चालक पेशामा लागेका गङ्गारामले सहचालककै कारणले यस्तो नियमको सुरुवात गर्न बाध्य भएको सुनाउँछन् । उनी भन्छन्,‘सहचालक हुँदा भन्दा यात्रुहरूलाई नहुँदै फाइदा भइरहेको छ किनकि कोचाकोच गरेर बस्नुपर्दैन, अपशब्द सुन्नुपर्दैन र यात्रुहरू आफूखुशी मिलेर सिटमा बस्न पाउनु भएको छ ।’
यात्रा गरिसकेपछि यात्रुले खुद्रा पैसा चालक छेउको टोकरीमा हाल्दिनु पर्छ । बस छुट्न लाग्दा गङ्गारामले माइकिङ गर्छन् र बसभित्रको नियम बताइदिने गरेका छन् । उनले माइकबाटै भन्छन्,‘बसबाट ओर्लिएर जाने बेलामा एकले अर्कालाई बाइ–बाइ भन्दै जानुहोला, सभ्य नागरिकको परिचय दिनुहोला ।’
उनले बस छुट्ने बेला भन्छन् ‘यहाँहरूलाई स्वागत छ । सूचना-प्लेकार्डको सन्देश पढ्नुहोला। बसभित्रका अन्य सुविधाहरु उपयोग गर्नुहोला ।’ उनी भन्छन्,‘यो सिस्टम सुरु गरेपछि धेरै यात्रुले धाप मार्दै धन्यावाद भन्ने गरेका छन् ।’ यस्तो सिस्टम अन्य बसमा पनि सुरु गर्न सरकारले पहल गरिदिए हुने भन्ने उनको इच्छा छ ।
भिडियो: