ललिता निवास प्रकरण: पूर्व प्रमद्वय नेपाल र भट्टराई विरुद्धको मुद्दा सर्वोच्चको पेशीमा, होला फैसला ?
प्रकाशित २०७७ चैत १६ सोमबार
407
Shares
काठमाडौं। ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराई विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सोमबारको पेशीमा चढेको छ । पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा परेको मुद्दा यसअघि पेशीमा चढेर पटक पटक स्थगित हुँदै आएको थियो ।
सो मुद्दाको पेशी सोमबार न्यायाधीश अनिलकुमार सिन्हा र हरि फुयालको इजलासमा पहिलो नम्बरमा परेको हो । बालुवाटारको सरकारी जग्गा निजी बनाएर व्यक्तिका नाममा ल्याउन खोजेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघमा तत्कालीन तीन मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो
त्यसपछि पुनः मन्त्रीहरूलाई मात्र नभई मन्त्रीपरिषद्को नेतृत्व गर्ने प्रधानमन्त्रीलाईसमेत छानबिन हुनु पर्ने माग राख्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराई विरुद्ध २८ माघ २०७६ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री बनेका थिए । सोही समयमा अर्थात् २९ चैत २०६६, ३१ बैशाख २०६७, २८ साउन २०६७ र १८ असोज २०६९मा मन्त्रिपरिषद्बाट निर्णय भई बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगिएको भनिएको छ ।
तर अख्तियारले भने मन्त्रिपरिषद्बाट सामूहिक रूपमा गरिएको नीतिगत निर्णय आफ्नो कार्यक्षेत्रको अधिकार भन्दा बाहिरको विषय भएको भन्दै आफूले दायर गरेको अभियोग पत्रमा लेखेको थियो ।
पटक पटक पेशीमा चढेर पनि स्थगित हुँदै आएको सो मुद्दाको फैसला कहिले आउला भन्ने सबैलाई चासो छ ।