काठमाडौं । अमेरिकाले प्रतिबन्ध नहटाएसम्म २० प्रतिशत प्रशोधित (शुद्धीकरणसहितको) युरेनियम प्रवर्धन नरोक्ने इरानले जनाएको छ । मंगलबार इरानी केन्द्रीय टेलिभिजनले नाम नतोकिएका एक अधिकारीलाई उदृत गर्दै यस्तो जनाएको हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले इरानसँग वार्ता गर्ने तयारी सुरु गरेको कुरा सञ्चारमाध्यममा आएपछि इरानबाट अप्रत्यक्ष प्रतिक्रिया आएको हो ।
अमेरिकाले इरानसँग वार्ताका लागि एक नयाँ प्रस्ताव अधि सारिएको छ । जसमा इरानमाथिका आर्थिक प्रतिबन्द फुकुवा गरिने र बदलामा इरानको आणविक हतियार विकासमा कठिनाइ उत्पन्न गराइने कुरा समावेस छ । तर, इरानले यसको अस्वीकार गरेको छ ।
इरानका एक उच्च अधिकारीले प्रस टिभीलाई भनेका छन्, ‘इरानले २० प्रतिशत शुद्ध युरेनियमको प्रवर्धन तब मात्रै रोकिने छ जब, अमेरिकाले इरानमाथि लागेका सम्पूर्ण प्रतिबन्ध फुकुवा गर्नेछ’, ती अधिकारीले २०१५ को सम्झौता अन्तर्गतका केही प्रस्तावहरुलाई घटाउने समेत बताएका छन् ।
अहिले अमेरिकाले अघि सारेको प्रस्तावले इरानको खासगरी २० प्रतिशत शुद्धिकरणलाई रोक्ने, अन्य आणविक गतिविधिलाई सुस्त बनाउने र बदलामा आर्थिक प्रतिबन्द फुकुवा गर्नेछ ।
सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा आणविक सम्झौताबाट हात झिकेका थिए ।
त्यसको एक वर्षपछि इरानले सो सम्झौता उल्लंघन गरेको थियो । अहिले बाइडेन प्रशासनले सोही सम्झौतालाई पुर्नजिवित गराउन खोजिरहेको छ ।एजेन्सी