पोखरा । नेकपा एमालेको माधवकुमार नेपाल समूहको कास्की कमिटी संयोजकमा धनराज आचार्य चयन भएका छन् । आज पोखरामा भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यलाई जिल्ला संयोजक चयन गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली छन् ।
संयोजक आचार्य रवीन्द्र स्मृति फाउण्डेशनका सचिव एवं लायन्सका पूर्व गभर्नर समेत हुन् । हालका लागि जिल्ला कमिटी ७५ सदस्यीय बनाइएको र पछि १५० जना पुर्याइने संयोजक आचार्यले जानकारी दिए ।
छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीको घोषणा गर्ने उनले बताए । संयोजक आचार्यले आफूहरूको कमिटी एमाले कास्कीको आधिकारिक कमिटी भएको बताए ।
अबको केही दिनमा पूर्ण कमिटी बनाएर पत्रकार सम्मेलन नै आयोजना गरेर जानकारी गराउने उनले स्पष्ट पारे । भेलामा एमालेका वरिष्ठ नेता नेपाल आफै सहभागी थिए ।