नेपाल समूहले देशव्यापी रूपमा पार्टी पुनर्गठनसहितको अवधारणा-पत्र प्रस्तुत गर्ने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ चैत २० शुक्रबार
105
Shares
काठमाडौँ। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित चार जनालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि अलमलमा परेको नेपाल समूहले देशव्यापी रूपमा पार्टी पुनर्गठन सहितको अवधारणा पत्र प्रस्तुत गर्ने भएको छ। नेपाल समूहले राष्ट्रिय भेलामा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको अवधारणा पत्रलाई कार्यकर्ता माझ सर्कुलर गर्ने भएको हो।
शुक्रवार दिउसो बसेको स्थायी कमिटी बैठकले गएको चैत ४–५ गते ललितपुरमा भएको राष्ट्रिय भेलामा प्रस्तुत दस्ताबेजमा आएका सुझावलाई प्रकाशन गरेर सर्कुलर गर्ने निर्णय गरेको हो। राष्ट्रिय भेलामा प्रस्तुत अवधारणा पत्रमा १० वटा टोलीले सुझाव दिएका थिए। ती सुझाव समेटिएका प्रतिवेदनलाई शनिवार अन्तिम रूप दिएर प्रकाशन गर्ने तयारी रहेको छ।
सो कार्यकर्ता भेलाले देशव्यापी रूपमा सङ्गठन विस्तार र सुदृढीकरण गर्ने अभियानलाई अघि बढाउने निर्णय गरेको थियो। त्यसका निम्ति प्रशिक्षण, अभियान, भेला कस्तो हुने भन्ने विषयलाई अन्तिम रूप दिएर सर्कुलर गर्ने प्रचार विभाग प्रमुख समेत रहेका योगेश भट्टराईले जानकारी दिएका छन्।
शुक्रवारको बैठकले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही पार्टीको नवौँ महाधिवेशनबाट पारित विधान विपरीत र पूर्वाग्रही भएको निष्कर्षसहित त्यसको निन्दा र भर्त्सना गरेको छ।
त्यस्तै, एमाले ब्युँतिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेको भन्दै कार्यान्वयन गर्न आग्रह गरेको गर्ने र देशव्यापी रूपमा नेता कार्यकर्ता मार्फत दबाब दिन लगाउने पनि प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए।