काठमाडौँ । गत शुक्रबार निधन भएका बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार आगामी अप्रिल १७ तारिखमा हुने भएको छ । अन्तिम संस्कार विन्डसोरमा हुने बकिङघम प्यालेसले जनाएको छ ।
सिन्ह्वाका अनुसार अन्तिम संस्कार कार्यक्रम १७ तारिख बेलायतको समय अनुसार दिउँसो ३ बजे सेन्ट जर्ज च्यापेलमा शुरु हुनेछ ।
उक्त अन्तिम संस्कारमा सर्वसाधारण कसैलाई पनि उपस्थितिका लागि स्वीकृति दिएको छैन । कोरोनाका कारण सीमित व्यक्तिहरुमात्र उक्त अन्तिम संस्कारमा सहभागी हुनेछन् ।
फिलिपको अन्तिम संस्कारको सबै गतिविधि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने जनाइएको छ ।
फिलिपको गत शुक्रबार ९९ वर्षको उमेरमा निधन भएको थियो ।