काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको सिफलस्थित धोबिखोला किनारको करिब ६ रोपनी जग्गामा गुठी संस्थानले ठेक्का दिएपछि तरकारी बजारका लागि संरचना निर्माण हुन थालेको छ ।
२०२१ सालको नापीमा भगवानस्थान वडा नं. ६ को कित्ता नं ६२ को क्षेत्रफल ५ रोपनी १२ आना र सोही ठाउँको कित्ता नं. ६३ को १२ आना कायम गरिएको उक्त जग्गामा संस्थानले १० वर्षका लागि तरकारी बजार सञ्चालन गर्न ठेक्का दिएको हो ।
कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले पशुपतिनाथको नाममा रहेको उक्त जग्गाको दुरुपयोग हुन नदिन कोषले ताकेता गरे पनि संस्थानले साथ नदिएको बताए । उनले भने, ‘ठेक्का दिनुअघि संस्थानले कोषलाई मौखिक सहमतिसमेत मागेको छैन । यसरी मनपरी जग्गाको दुरुपयोग गर्न कुनै हालतमा मिल्दैन ।’
२०६१ पुस २० गते तत्कालीन सदस्यसचिव वसन्त चौधरीको पालामा कोषका तर्फबाट सल्लाहकार धर्मप्रसाद गौतम र संस्थानका प्रशासक दिलीपकुमार भट्टबिच समझदारी पत्रमा उक्त जग्गा राजगुठी भएकोले दर्ता गरिरहनु नपर्ने तर सदुपयोग गर्नु पर्दा कोष र गुठीको समान दायित्व रहन्छ भनी हस्ताक्षर भएको देखिन्छ ।
उक्त जग्गाको कोषले २०५२ सालसम्म तिरो तिरेको कोषाध्यक्ष थापाले जानकारी दिए । उनले भने, ‘कुनै हालतमा त्यो जग्गामा संस्थानले एकलौटी निर्णय गरेर ठेक्का लगाउन पाउँदैन ।’ उक्त जग्गाको मोही भनिएको मनकामना भारतीको निधन भएपछि मोही कोही नभएको उनको भनाइ छ । उनका अनुसार उक्त जग्गाको सदुपयोग गर्न संस्थानलाई पटक पटक पत्र पठाए पनि कुनै प्रतिक्रिया आएको छैन ।
संस्थानका प्रवक्ता सरोज थपलियाले आफूहरूले पनि २०६६/६७ सालतिर उक्त जग्गा मासिने र मिचिने देखिएपछि कोषलाई पत्राचार गरेको तर कुनै जवाफ नआएको बताए । उनले भने, ‘जग्गाको दुरुपयोग नहोस् भनेर संरचना बनाउन ठेक्का दिएको हो ।’ अहिले पनि उक्त ठाउँमा ५/६ घरको अस्थायी संरचना छ ।
थापाले भने उक्त जग्गामा व्यक्तिका आँखा परेकाले जोगाउन संस्कृति मन्त्रालयदेखि सरोकारवाला सबै सरकारी निकायलाई बोधार्थ दिएर पत्राचार गरेको बताए ।