काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिवार ऐतिहासिक घोषणा गरेका छन् । तत्कालीन ओटोम्यान साम्राज्य (हालको टर्की)ले अल्पसङ्ख्यक आर्मेनियालीमाथि गरेको अत्याचारलाई आधिकारिक रूपमा नरसंहारको घोषणा गरेका हुन् ।
ओटोम्यान साम्राज्य अन्तर्गत रहेका झण्डै १५ लाख अल्पसङ्ख्यक आर्मेनियालीहरुको सन् १९१५ देखि सन् १९२३ सम्ममा हत्या भएको थियो । त्यति बेला लाखौं किश्चियन अर्मेनियालीहरुलाई मुस्लिम बनाइएको थियो ।
त्यति बेला ओटोम्यान साम्राज्यका लिडर रहेका तलत पाशाको निर्देशनमा लाखौं आर्मेनियाली महिला, बच्चा, र बुढापाका वा अशक्त व्यक्तिहरूलाई सिरियाली मरुभूमिमा पठाइएको थियो । उनीहरूलाई खाना र पानीबाट वञ्चित गराएर बलात्कार, हत्या, हिंसा र नरसंहार गराइएको थियो । पहिलो विश्वयुद्धपछि एवं सन् १९२३ तिर ओटोम्यान साम्राज्यको पतन भई टर्की स्वतन्त्रताको घोषणा भएको थियो ।
नाटोको मुख्य सदस्य र मध्यपूर्वको शक्तिका रूपमा रहेको टर्कीले यसलाई नरसंहार भनेर अस्वीकार गर्दै आएको छ । यसअघिका अमेरिकी राष्ट्रपतिहरुले समेत दशकौं पूरानो यो अत्याचारलाई नरसंहार भनेर घोषणा गर्न सकेको थिएनन् ।
खासमा टर्कीसँगको सम्बन्धलाई लिएर अमेरिकी राष्ट्रपतिहरुले यो घटनालाई नरसंहार घोषणा गर्न नसकेको बताइन्छ । तर, अहिले राष्ट्रपति बाइडेनले गरेको यो ऐतिहासिक घोषणालाई अमेरिकी आर्मेनियाली नागरिकहरूले स्वागत गरेका छन् ।
टर्कीले भने, चर्चाका लागि अमेरिकाले यस्तो घोषणा गरेको भन्दै फेरि नरसंहार भनेर अस्वीकार गर्ने क्रम जारी राखेको छ । अप्रिल २४ मा आर्मेनियालीहरुले यो घटनालाई सम्झिने दिनकारुपमा मान्दै आएका छन्, सोही अवसरमा राष्ट्रपति बाइडेनले यो घटनालाई नरसंहारका रूपमा घोषणा गरेका हुन् ।