हुम्ला । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोनाको नयाँ भेरियन्ट रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा हुम्लाको सदरमुकाम सिमकोट बजार क्षेत्रमा विभिन्न जनचेतना मूलक सन्देशहरू प्रवाह गरिरहेको छ । यसअघि देखिएको कोरोना भन्दा कोरोनाको नयाँ भेरियन्ट बढी घातक भएको भन्दै नगरिकहरुलाई सचेत गराउन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा जनचेतना मूलक सन्देश प्रवाह गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सोमबार जिल्ला सदरमुकाम सिमकोट बजार क्षेत्रमा कोरोनाबाट बच्न अपनाउनु पर्ने सावधानी तथा पालना गर्नु पर्ने स्वास्थ्यका मापदण्डहरूलाई पम्पलेट बनाई जनचेतना फैलाउँदै एक र्याली सहित सिमकोटबजार परिक्रमा गरेको हुम्ला प्रहरी प्रमुख डिएसपी हेरम्ब शर्माले बताए । देशका विभिन्न शहरहरुसंगै नेपालगन्ज र सुर्खेतमा फैलिएको कोरोना र त्यसको असरका बारेमा नागरिकलाई जानकारी गराउँदै स्वास्थ्यका मापदण्ड पुर्णरुपमा पालना गर्न प्रहरीले आग्रह गर्दै आइरहेको छ ।
प्रहरीले बजार क्षेत्रका व्यापी, सर्वसाधारण, किनमेल गर्ने व्यक्ती तथा अनावश्यक रूपमा घुमिरहेका व्यक्तिहरूलाई मास्कको अनिवार्य प्रयोग गर्न तथा सामाजिक दुरी कायम गर्न बेला बेला आग्रह गर्दै आइरहेको छ । यति मात्रै नभएर कोरोनाबाट बच्ने उपाय र अपनाउनु पर्ने सावधानीका बारेमा माइकिङ समेत गरिरहेको छ ।
अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौ, मास्कको अनिवार्य प्रयोग गरौँ, बेलाबेलामा साबुन पानीले मिचिमिची हात सफा गरौँ, सामाजिक दुरी कायम गरौँ लगायतका सन्देशहरू प्रवाह गरिएको छ । प्रहरीले बिना मास्क बजारमा डुल्नेलाई निःशुल्क मास्क वितरण गरेको थियो । जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न नदिन स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ ।
सिमकोट बजारमा आवत जावत गर्ने जोकोहीलाई मास्क लगाउन सचेत गराइ प्रहरीले जनताको सुरक्षा मात्रै नभई स्वास्थ्य सचेतनाको कार्यक्रम समेत गरेको छ । आज सम्म बजारमा बिना मास्क आवत जावत गर्नेलाई सम्झाई बुझाइ मास्क उपलब्ध गराई अनिवार्य प्रयोग गर्न भन्दै आएको भए पनि भोलि बाट मास्क प्रयोग नगर्नेलाई कडा भन्दा कडा कारबाही गरिने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
साथै सिमकोट गाउँपालिकाका विद्यालयमा एक हप्ताका लागि पठनपाठन ठप्प गरिएको छ । देशभरि कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै सावधानीका लागि सिमकोट गाउपालिका भित्रका सम्पुर्ण विद्यालय बन्द गरिएको हो । केही विद्यालयका विद्यार्थीहरूमा श्वासप्रश्वास सम्बन्धी समस्या बढ्न थालेपछि सोमबार बिहान पालिकाका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षतामा वडा अध्यक्ष तथा प्रधानाध्यापकहरु संग बसेको आकस्मिक बैठकले सोमबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सिमकोट गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरे पनि अन्य गाउँपालिकाले यस विषयमा केहि बोलेका छैनन् ।
अहिले सिमकोमा मात्र नभएर जिल्ला भरिका विद्यालयमा मौसमी फ्लुको समस्या देखिएको र कोरोना भाइरसको जोखिम हुन सक्ने भएकाले सिमकोट गाउँपालिका मातहतका विद्यालय एक हप्ताका लागि बन्द गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष लामाले बताए ।
अहिले सिमकोट गाउँपालिका मातहतमा ७ वटा मावि, १६ वटा आधारभूत विद्यालय गरी २३ वटा सामुदायिक र ५ वटा निजी विद्यालय गरी कुल २८ वटा विद्यालय रहेका छन् । सिमकोट गाउँपालिका भित्रका विद्यालयहरूले मङ्सिरमा गर्नु पर्ने वार्षिक परीक्षा कोरोनाको कारण यही वैशाख २० गतेबाट सञ्चालन गर्ने निर्णय गरेको भए पनि अहिलेको परिस्थिति हेरी परिक्षा संचालन गर्ने अध्यक्ष लामाले बताए ।