भारतमा कोरोनाको सुनामीः एकैदिन ३ लाख ६३ हजार संक्रमित, ३ हजार ३ सयको मृत्यु
मृतक दुई लाख नाघे, सक्रिय संक्रमित २९ लाख ७२ हजार बढी
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
84
Shares
तस्वीर– भारतको पुडुचेरी जिल्लाकी कलेक्टर पूर्भा गार्ग रात्रिकालीन कर्फ्यूबारे घोषणा गर्दै ।
काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक दैनिक बढेर रेकर्ड बनिरहेको छ । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित र मृतक भारतमा थपिएका छन् ।
मंगलबार ३ लाख ६२ हजार ७५७ जना संक्रमित थपिएका छन् । यो विश्वकै सबैभन्दा बढी हो । यसअघि आइतबार ३ लाख ५४ हजार ५३३ जना संक्रमित थपिएका थिए । सोमबार भने आइतबारको तुलनामा संक्रमितमा कमी आएको थियो । सोमबार ३ लाख १९ हजार ३१५ जना संक्रमित थपिएका थिए ।
मंगलबार भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ३ हजार २८५ जनाको ज्यान गएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ । भारतमा सक्रिय संक्रमित बढेर २९ लाख ७२ हजार १०६ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए ।
मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ लाख १ हजार १६५ पुगेको छ ।
मंगलबार २ लाख ६२ हजार ३९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ४८ लाख ७ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । तर यीमध्ये पनि कतिपयलाई पुनः कोरोना भएर ज्यानैसमेत गएको छ ।
राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । मंगलबार ६६ हजार ३५८ जना संक्रमित थपिएका छन् । हाल महाराष्ट्रमा मात्रै ६ लाख ७२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार ८९५ जनाको ज्यान गएको छ । अहिलेसम्म ६६ हजार १७९ जनाको ज्यान गइसकेको छ ।
राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ९८ हजार २६४ पुगेका छन् । मंगलबार २४ हजार १४९ संक्रमित थपिए । दिल्लीमा मंगलबार ३८१ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने १५ हजार ९ पुगेका छन् ।
उत्तर प्रदेशमा ३ लाख ६ हजार ४५८ जना सक्रिय संक्रमित छन् । मंगलबार ३२ हजार ९२१ संक्रमित थपिए । त्यस्तै मृतक २६४ थपिए ।
नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ९४ हजार २७५ जना पुगेका छन् । मंगलबार १२ हजार ६०४ संक्रमित थपिए । मंगलबार ८५ जनाको ज्यान गएको छ ।
संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ । अक्सिजन लुकाउनेलाई फाँसी दिन भारतीय अदालतले निर्देशन दिइसकेको छ ।
मृतकको दाहसंस्कार गर्ने स्थलको अभाव भएर विभिन्न पार्कहरुलाई नै मसानघाट बनाइएको छ ।
भारतमा अहिलेसम्म १४ करोड ५२ लाख ७१ हजार १८६ जनालाई कोरोनाको खोपसमेत लगाइसकिएको छ ।