डडेलधुरा। नेपाल पत्रकार महासङ्घ डडेलधुराको नवनिर्मित भवनमा डिभिजन वन कार्यालय डडेलधुराले डोजर प्रयोग गरेर क्षति पुर्याएको छ ।
महासङ्घलाई सूचनाविना नै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बलसमेत प्रयोग गरेर भवनमा क्षति पुर्याइएको घटनाप्रति महासङ्घले एक विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ ।
सुदूरपश्चिम प्रदेशस्तरीय सूचना केन्द्रसमेत रहेको उक्त भवनलाई भत्काउने प्रयासपछि महासङ्घका अध्यक्ष हिकमतबहादुर सिंह र सचिव पुष्कर भण्डारीले विज्ञप्ति जारी गरेर विरोध गरेका छन् ।
महासङ्घले विभिन्न निकाय र सरोकारवालासँग समन्वय सहकार्य गरेर तीन तले पक्की भवन निर्माण गरिएको र जग्गाको भोगाधिकारसमेत महासङ्घसँग रहेका अवस्थामा प्रचलित कानुन विपरीत भवन भत्काउने कार्य प्रेस स्वतन्त्रता विरोधी क्रियाकलापसँगै अक्षम्य अपराध भएको ठहर गरेको छ ।
सो विषयमा स्थानीय प्रशासन र डिभिजन वन कार्यालय डडेलधुरासँग संवादका लागि पहल गर्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाइएको छ ।
डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यले अञ्जनमा गल्ती भएको भनी जवाफ दिएका छन् । महासङ्घले जिल्लाका साधारण सदस्यबाट लेवी तोकेर निर्माण गरिएको सो भवनमा पुर्याइएको क्षतिका सन्दर्भमा छानबिन गरेर २४ घण्टाभित्रै दोषीमाथि कारबाही नगरिएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।