झापा । झापा जिल्लाको भद्रपुर नगरपालिका ८ घोडामारिमा आज आइतबार बालबालिका चोर्ने योजनामा रहेका एक अपरिचित व्यक्ति पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार भद्रपुरबाट बच्चा चोर्दै गर्दा एक अपरिचित व्यक्ति पक्राउ परेको बताइएको छ । पक्राउ पर्ने व्यक्तिको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
प्रहरीका अनुसार ती व्यक्तिले भद्रपुर नगरपालिका ८ घोडामारा निवासी कमला टुडुको २ वर्षीय छोरा सुमनलाई चोर्न खोजेको अपरोपमा ती व्यक्तिलाई पक्राउ गरिएको हो ।
आज आइतबार करिब बिहान ८ बजे तिर घर छेउको बाटो नजिकै खेलिरहेका बालक सुमनलाई ती व्यक्तिले बोरामा हाल्न खोज्दा स्थानीयले देखेका थिए । स्थानीयको सहयोगमा बालकका अभिभावक र गाउँहरू मिलेर ती अपरिचित व्यक्तिलाई नियन्त्रण लिई तत्काल प्रहरीलाई खबर गरेका थिए । जानकारी पाएको लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरी प्रहरी कार्यालय झापा लगेको बताइएको छ ।
बच्चा चोर्न खोजेका व्यक्ति अन्दाजी करिब ५० देखि ५५ वर्ष उमेरको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।पक्राउ पर्ने व्यक्ति मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिनुका साथै उनी नेपाली भाषा बोल्न नजान्ने प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा उनी भारतीय हुन् वा नेपाली भन्ने खुल्न सकेको छैन । प्रहरीका अनुसार पीडित बालकका परिवारले प्रहरीमा लिखित जाहेरी नदिएसम्म कारबाही प्रक्रिया अगाडि नबढेको र उजुरी पश्चात् तत्काल कारबाही प्रक्रिया अघि बढाउने प्रहरी प्रवक्ता डी एस पी राकेश थापाले बताए ।
यता स्थानीय बासीहरूले पक्राउ पर्ने व्यक्ति लाई यस अघि कसैले पनि कहिले नदेखेको र ती व्यक्ति भारतबाट बच्चा चोर्न आएको हुनुपर्ने दाबी गर्दै उनलाई हदैसम्म कारबाही गर्नुपर्ने माग राखेका छन् ।