काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वानले संविधानमाथि प्रहार भएको प्रतिक्रिया दिएका छन् ।
आइतबार साँझ सामाजिक संजालमार्फत रावलले यो काम प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो भनेका छन् ।
उनले लेखेका छन्, ‘प्रम केपीले संविधानको धारा ९३(१) र १००(१) को अपव्याख्या गरी विश्वासको मत लिने प्रयोजनका लागि भनेर प्रतिनिधि सभाको बैठक बोलाउनु भएकोछ। यो प्रतिनिधि सभाको विघटनमा झैं संविधान मिच्ने कार्य हुनुका साथै हालको राजनीतिक व्यवस्था र लोकतन्त्रमाथिको निर्मम प्रहार हो।सबैमा चेतना भया !’
मन्त्रिपरिषद्को सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार अपरान्ह १ बजे बैठक आह्वान गरेकी छन् ।