झापा । विदेशीलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको आरोप लागेपछि फरार रहेका बिर्तामोड नगरपालिका–८ का वडाध्यक्ष अजय कार्की सोमबार पक्राउ परेकै दिन धरौटीमा छुटेका छन् ।
दुई वर्षअघि गैर नेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई सोमबार चन्द्रगढीबाट पक्राउ गरिएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।
प्रहरीले आरोपी कार्कीलाई पक्राउ परे लगत्तै झापा जिल्ला अदालतमा बुझाएको थियो ।अदालतले सोमबार रु नौ लाख धरौटी मागेको थियो । कार्की धरौटीबापतको रकम बुझाएर सोमबार नै तारेखमा छुटेका छन् ।