लुम्बिनी प्रदेशतर्फ राष्ट्रियसभा उपनिर्वाचन १७ जेठमा, दाङको घोराहीमा मतदान
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
270
Shares
काठमाडौँ। लुम्बिनी प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि १७ जेठमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा अन्य समूहको तर्फबाट राष्ट्रियसभा सदस्यको रिक्त पद पूर्तिका लागि १७ जेठमा उपनिर्वाचन गरिने जनाएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै १९ वैशाखको मन्त्रिपरिषद्को निर्याण अनुसार १७ जेठमा उपनिर्वाचन गर्ने गरी मिति घोषणा भएको जानकारी दिए।
सो प्रदेशमा माओवादीबाट निर्वाचित सांसद चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनको स्थान रिक्त छ। निर्वाचन आयोगले सो प्रदेशमा उपनिर्वाचनका लागि बुधवार नै कार्य तालिकासमेत स्वीकृत गरेको छ।
जसअनुसार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ भने लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णय आयोगले गरेको छ।