काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्ला अर्थात काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थपिने भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा अवधि थपिने बताएका हुन् ।
'कोरोना संक्रमण बढी रहेको छ, निषेधाज्ञा बढाउनु पर्ने अवस्था नै देखिन्छ, तर, कति समय बढाइन्छ भनेर अहिले भन्न सकिन्न', उनले भने ।
उपत्यकामा कति दिन निषेधाज्ञा थप गर्ने भन्ने बिषयमा मंगलबार वा बुधबारभित्र बैठक बसेर छलफल हुने र त्यसपछि टुंगो लाग्ने उनको भनाइ छ । यस्तै कडाइ हुन्छ या खुकुलो हुन्छ भन्ने कुरा पनि छलफलपछि नै थाहा हुने उनले बताए ।
यद्यपि, संक्रमण बढ्दो अवस्थामा नै रहेका कारण कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश अनुसार थप कडाइ पनि हुनसक्ने सम्भावना रहेको छ ।
अध्ययादेश अनुसार नै छलफल गर्नका लागि सोसाइटी बनेको र सोमा हुने छलफल अनुरुप लकडाउनको स्थिती र समयावधिको निश्चितता हुने उनले बताएका छन् ।
त्यस्तै काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले पनि निषेधाज्ञा कति समय थपिन्छ भनेर मंगलबारमात्रै टुंगाे लाग्ने बताएका छन् ।
उपत्यकामा गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लागेको छ । निषेधाज्ञापछि उपत्यकामा कोरोना संक्रमित थपिने क्रममा केही कमी आएको छ । तर निषेधाज्ञामा अझ कडाइ हुन नसकेको गुनासो आइरहेको छ ।