काठमाडौँ । नेपाली सेनाका सहायकरथी दिनेश केसीको निमोनियासहित कोभिड-१९ संक्रमणबाट निधन भएको छ ।
छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको बिहिवार बिहान निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।
सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्किएका हुन् ।
करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका काठमाडौँ निवासी उनको बिहिवारै पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको सेनाले जनाएको छ । उनका श्रीमती र दुई छोरी छन् ।
यसैबीच सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड-१९ बाट हालसम्म छ सैनिकको निधन भइसकेको छ ।