बजेटबारे कामचलाउ सरकारलाई पूर्व प्रमुख निर्वाचन आयुक्तहरुको खवरदारी
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
675
Shares
काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले वर्तमान कामचलाउ सरकारले आफैँ घोषणा गरेको निर्वाचनको परिणामलाई प्रभावित पार्नेगरी बजेट नल्याउन सुझाव दिएका छन् ।
सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेकै बेला पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त वक्तव्य जारी गरेर यस्तो सुझाव दिएका हुन् ।
पूर्व प्रमुख निर्वातचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती र डा. अयोधिप्रसाद यादव तथा कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले संयुक्त वक्तव्य जारी गरेर वर्तमान चुनावी एवं कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रहेर ल्याउन सुझाव दिएका छन् ।
वक्तव्यमा मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम अथवा बजेट विनियोजन नगर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
सरकारले आगामी निर्वाचनलाई लक्षित गरी पपुलर बजेट ल्याउन लागेको समाचारहरु सार्वजनिक भएपछि पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले बजेटमा चासो राखेका हुन् ।
यस्तै, पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले निर्वाचन आयोगलाई समेत आफ्नो संवैधानिक दायित्वको ख्याल गर्न आग्रह गरेका छन् ।
वक्तव्यमा उनीहरुले आयोगले आफ्नो संवैधानिक दायित्वको ख्यालगरी सम्बन्धित सबै पक्षलाई समयमै सजग गराउने विश्वास लिएको कुरा उल्लेख छ ।