नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २० नागरिक अगुवा वालुवाटारबाट पक्राउ
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
463
Shares
काठमाडौं । सरकारको विरोधमा उत्रिएका नागरिक अगुवाहरु नारायण वाग्ले, सञ्जिव उप्रेती, खगेन्द्र संग्रौलालगायत २० प्रदर्शनकारी काठमाडौंको वालुवाटारबाट पक्राउ परेका छन् ।
सरकारको असंवैधानिक कदम, स्वास्थ्य क्षेत्रमा गरिएको माफियाकरणलगायत विषयको विरोध गर्दै ब्यानर र प्लेकार्डसहित वालुवाटार पुगेका उनीहरुलाई प्रहरीले धरपकड गरेको हो ।
वृहत नागरिक आन्दोलनको ब्यानरमा भाटभटेनी पुग्दा नपुग्दै प्रक्राउ गरिएको हो । पक्राउ गरिएकाहरुलाई नेपाल प्रहरीको कमलपोखरी बृत्तमा लगिएको बृहत नागरिक आन्दोलन अभियानले विज्ञप्तिमार्फत जनाएको छ ।
चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायतका विषयमा उनीहरूले उठाएका थिए । सर्वोच्चको आदेशविपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेकामा पनि उनीहरुको आपत्ति थियो । स्वास्थ्य सेवा हो, व्यापार होइन, जनस्वास्थ्यमा प्रतिगमन भयो जस्ता प्लेकार्ड प्रदर्शन गरिएको थियो ।