काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिसमेत हासिल नहुने बताएको छ । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ४.०१ प्रतिशतको आर्थिक बृद्धि समेत हासिल नहुने बताएका हुन् ।
सरकारले चालु वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो । केन्द्रीय तथ्याङ्क विभागले भने ४.०१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो । तर, यो अनुमान पनि पुग्न चुनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाई छ ।
कोरोनाको दोस्रो लहरले अर्थतन्त्र खुम्चिएका कारण आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने निष्कर्षमा अर्थमन्त्री पौडेल पुगेका छन् । उनले भने, ‘निषेधाज्ञाले ४.०१ प्रतिशत पुग्न पनि चुनौतीपूर्ण छ ।’
अर्थमन्त्री बन्नासाथ पौडेलले सामान्य खर्च १० र पुँजीगत खर्च झन्डै २० प्रतिशतले घटाएका थिए । उनले अघिल्ला अर्थमन्त्री युवराज खतिवडाले राखेका खर्च सीमा घटाएका थिए । आर्थिक वर्षको अन्तिम एक महिना बाँकी हुँदा समेत पुँजीगत खर्च जम्मा ३७ प्रतिशत भएको छ भने राजश्व र ऋणको अवस्था पनि डामाडोल छ ।