काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा १६ बैशाखबाट जारी निषेधाज्ञा जेठ महिनाभर थप गर्ने तयारी भएको छ ।
पछिल्लो पटक थप गरिएको निषेधाज्ञा २० बैशाखसम्म छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जारी निषेधाज्ञालाई जेठ महिनाभर अर्थात ३१ गतेसम्म लागू गर्ने तयारी गरेका छन् । सो बारेमा भोली(बुधबार) निर्णय हुनेछ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा ३१ गतेसम्म कायम हुने बताए । उनले किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर संचालनमा गत साता लगाइएको रोकलाई खुला गर्दै निषेधाज्ञालाई जेठ महिनाभर थप गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
२० गतेपछि थप हुने निषेधाज्ञामा खाद्यान्न तथा किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइने छ । यसैगरी निर्माण क्षेत्रमा काम रोकिएकाले काम सुचारु गर्न दिने र निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर काम गर्नु पर्नेछ ।
कोरोना संक्रमणदर उच्च भएपछि गत १६ बैशाखबाट उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा कायम छ । प्रसासनले जारी निषेधाज्ञामा जथाभावी घरबाट बाहिर निस्कन नपाइने गरी रोक लगाएको छ भने सवारी साधन संचालनमा पनि रोक लगाइएको छ ।