जोर्डनसँग नेपालको संघर्षपूर्ण प्रदर्शन, रोकियो एसिया कपको यात्रा पनि
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
652
Shares
काठमाडौं । निरन्तरको हारले फिफा विश्वकप फुटबल –२०२२ को यात्रा पहिले नै टुंग्याएको नेपालले एसिया कप–२०२३ को यात्रा पनि टुंग्याएको छ । सोमबार राति जोर्डनसँग पराजित भएपछि नेपालको एसिया कप छनोटको अर्को चरणमा पुग्ने यात्रा टुंग्याएको हो ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा नेपालले संघर्षपूर्ण खेल खेल्दै ३–० गोल अन्तरको हार बेहोरेको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई तथा याजन अल अरबले एक गोल गरे ।
रोहित चन्दले मौसा मोहम्मद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै २४ औं मिनेटमा खाता खोलेको जोर्डनले ४९ औं मिनेटमा दोब्बर तथा ६७ औं मिनेटमा तेब्बर गोल गरेको थियो । यसअघि घरेलु मैदानमा खेलेको जोर्डनले पनि नेपाललाई ३–० गोल अन्तरले नै हराएको थियो ।
नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो हाफमा गरेको एक गल्तीले जोर्डनविरुद्धको खेलको नतिजा फरक आएको बताएका छन् । उनले जोर्डनले पेनाल्टी पाउनु नै दुर्भाग्य भएको बताए ।
तर उनले जोर्डनविरुद्ध सुधारिएको प्रदर्शन गरेको दाबी गरे । उनले हारको सम्पूर्ण जिम्मेवारी आफैले लिने बताए ।
यो हारले नेपालको अबको यात्रा टुंगिएको छ । अब नेपालले छनोटको अन्तिम खेलमा सबैभन्दा सफल टिम अष्ट्रेलियासँग शुक्रबार खेल्नेछ ।
नेपालले अहिलेसम्म नेपालले ७ खेलमा ६ अंक जोडेर चौथो स्थानमा छ । नेपालले चाइनिज ताइपेईलाई दु्वै खेलमा हराएको थियो । अन्य बाँकी टिमसँग पराजित हुँदै आएको छ ।