arrow

विश्वकप छनोटका १० खेल, पोर्चुगल र बेल्जियम बराबरीमा, नेदरल्याण्ड्सको जित

logo
प्रकाशित २०७७ चैत १५ आइतबार
ronaldo71.jpg

काठमाडौं । फिफा विश्वकप छनोट फुटबल अन्तर्गत युरोपियन छनेटमा शनिबार राति १० खेल भएका छन् । समूह ए को खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । पोर्चुगल १० खेलाडीमा सिमित सर्बियासँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

सर्बियाको मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल रोकिएको हो । ११ औं र ३६ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएकामा ४६ औं मिनेटमा एलेक्सजान्डर मिट्रोभिचले र ६० औं मिनेटमा फिलिप कोस्टिकले गोल गरेपछि खेल २–२ को बराबरीमा सकिएको हो । 

खेलको इन्जुरी समयमा निकोला मिलेन्कोभिचले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो । 

यो खेलमा पोर्चुगिच खेलाडी क्रिष्टियानो रोनाल्डोले उल्लेखनीय भूमिका खेल्न सकेनन् । उनी तस्वीरमा जस्तै निराश देखिए ।

यसै समूहको अर्को खेलमा लक्जेमवर्गले रिपब्लिक अफ आयरल्याण्डलाई १–० गोल अन्तरले हराएको छ ।

सर्बिया २ खेलमा ४ अंकसहित पहिलो तथा समान अंकबाटै पोर्चुगल दोस्रो स्थानमा छ । 

समूह ई को खेलमा बेलारुसले इस्टोनियालाई ४–२ गोल अन्तरले हरायो । भितालीले २ गोल गरे । 

बेल्जियमले भने चेक रिपब्लिकसँग १–१ गोलको बराबरी खेलेको छ । रिपब्लिकका लुकास प्रोभोडले ५० औं मिनेटमा गोल गरे भने त्यसको १० मिनेटपछि रोमेलु लुकाकुले बेल्जियमका लागि बराबरी गोल गरेका थिए । 

यो समूहमा ४–४ अंकसहित रिपब्लिक पहिलो तथा बेल्जियम दोस्रो स्थानमा छ । बेलारुस ३ अंकसहित तेस्रो स्थानमा छ । वेल्स र इस्टोनिया अंकविहीन छन् । 

समूह जीको खेलमा नेदरल्याण्ड्सले पहिलो जित निकालेको छ । लाट्भियालाई २–० गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डठ्सले पहिलो जित निकालेको हो ।

स्टेभेन बेर्घुइस र लुक डी जोङले एक एक गोल गरे । 

यो समूहका अन्य खेलमा मेन्टेनेग्रोले जिब्राल्टारलाई ४–१ गोल अन्तरले र टर्कीले नर्वेलाई ३–० गोल अन्तरले हरायो । 

समूह एचको खेलमा रुसले स्लोभेनियालाई २–१ गोल अन्तरले तथा क्रोएसियाले साइप्रसलाई १–० गोल अन्तरले हरायो । स्लोभाकिया र माल्टाले २–२ गोलको बराबरी खेलेका छन् । 



लोकप्रिय समाचार
नयाँ